शोकशैयाबाट प्रधानमन्त्रीज्यूलाई पत्र
आफ्नी ममतामयी आमाको शोकमा किरिया बसिरहेको बेला मुलुकको प्रधानमन्त्रीलाई पत्र लेख्ने विचार मनमा पहिलोपटक आउँदा म आफैसित आश्चर्यचकित भएको थिएँ । हिन्दु परम्परा अनुसार यो समय कुनै वादविवाद गर्ने वा सार्वजनिक माध्यमबाट कसैलाई पत्र लेख्ने समय त झनै होइन । यसबखत मैले गर्नुपर्ने के हो भने शास्त्रीय परम्परा अनुसार आफ्नी जननी गंगादेवी चौधरीको आत्माको मुक्तिका लागि नियमानुसार एकान्तमा बसेर काजकिरियाका प्रावधानहरु पालन गर्नु । यति सबै कुराको मोटामोटी जानकारी हुँदाहुँदै पनि मैले आफुलाई यो पत्र लेख्नबाट रोक्न सकिन । मलाई लाग्यो, यो विषयमा अहिले तपाईमार्फत प्रसंग उठाइन भने मेरो अन्तरआत्माले मलाई कहिले क्षमा गर्ने छैन ।
जुन विषयको म कुरा उठाउँदैछु, त्यसबाट आजको दिन म र मेरो परिवार पीडित छौँ । त्यही विषयबाट हिजोको दिन अनगिन्ति नेपाली पीडित भएको होलान् । र, हामीले त्यस विषयमा केही गर्न सकेनौ भने जो चोट आज मलाई, मेरो परिवारलाई परेको छ, त्यही पीडामार्गबाट अनगिन्ति परिवारहरुले जानुपर्दछ ।
कुरा बैशाख २७ गतेको हो । आफ्नी आमाको पार्थिव शरीर लिएर म पशुपति आर्यघाट पुगेको थिएँ । आजन्म शिवभक्तिमा लिन रहने आमाको अन्तिम संस्कारका निम्ति यो भन्दा उपयुक्त स्थल कुन पो हुन सक्थ्यो र ? चिताको वरिपरि ठुलो संख्यामा परिवारजनहरु, इष्टमित्रहरु, शुभचिन्तकहरु जम्मा भएका थिए । जेठा छोरा भएका नाताले गर्नुपर्ने विभिन्न क्रियाविधान पष्डितजीहरुको आदेश अनुसार म गर्न थाले । त्यसै विधान अन्तरगत पवित्र बाग्मतीमा किरियापुत्रले स्नान गर्ने र वाग्मतीको जल मृतात्मालाई अर्पण गर्ने प्रसँग आउँदा कट्टर कर्मकाण्डी ब्राह्मणसमेत उक्त वैदिक परम्पराको विपरीत आशय व्यक्त गर्न बाध्य भए । उनको आशय थियो – यो विधि त पु¥याउन सकिन्न । कसरी यस्तो फोहोर मृतात्मालाई अर्पण गर्नु ?
एउटा कट्टर कर्मकाण्डी ब्राह्मणले समेत मृतात्माको मुक्तिका लागि अनिवार्य संस्कार मानिएको प्रावधानसमेत पालना नगर्नु भन्ने आशय व्यक्त गर्ने स्थिती देखेर म किंकर्तव्यविमूढ भएँ । हुन त त्यस दिन अघिपनि बाग्मतीको नाममा जमेको फोहोर पानी मेरो आँखाले नदेखेको कुरा थिएन । तर आफैलाई नपरी मानिस चेत्दैन भनेझैँ आमाको मृत्यु संस्कारको रीति परम्पराबाट वञ्चित हुनुपरेपछि मात्र मेरो चेत खुल्यो । अनि मैले आफुलाई आफैले नियाले, वरिपरि जम्मा भएका स्वजनहरुलाई हेरेँ । राजनीतिज्ञहरु, प्रशासकहरु, उद्योगपतिहरु, व्यापारीहरु, चिकित्सकहरु, समाजसेवीहरु, पत्रकारहरु, कलाकारहरु, वकीलहरु……..। उपस्थित हामी मध्ये कतिपयलाई सांसारिक भाषामा ‘गणमान्य’ भन्दा फरक पर्दैनथ्यो । त्यहाँ एकातिर हाम्रो कथित ‘गणमान्यता’ थियो भने अर्कोतिर मेरी आमाको अस्तुसमेत बगाउन नसकिने बाग्मती नामको फोहोर ढल थियो । मैले आफैलाई धिक्कारेँ, आफ्नो समाजलाई धिक्कारेँ र आफ्नो सरकारलाई धिक्कारेँ । सम्माननीय प्रधानमन्त्रीज्यू, साँच्चै भन्ने हो भने आफ्ना नागरिकहरुलाई बाँचुञ्जेलको त कुरै छाडौँ, मरिसकेपछि पनि एउटा संस्कारयुक्त वातावरण दिन नसक्ने तपाई हामीले ठुला–ठुला भाषण गर्नुको कुनै अर्थ छैन । विश्वको एकमात्र हिन्दु अधिराज्यका राष्ट्रदेवको चरणमा रहेको एउटा घाटसमेत सफा राख्न नसक्ने हाम्रो समाज र हाम्रो सरकारले सुशासन र आर्थिक क्रान्तिको कुरा गर्न शोभा दिदैन ।
मलाई थाहा छ, सम्पुर्ण बाग्मतीलाई तत्काल प्रदुषणमुक्त गर्न आजको स्थितीमा लगभग असम्भवप्रायः काम हो । तर हामी सबैलाई यो पनि थाहा छ, सरकारले चाहेमा वा सरकारले पशुपति क्षेत्रका निम्ति खडा गरेका अनगिन्ती ज्ञात–अज्ञात निकायहरुले चाहेमा, आफ्नो हिन्दु धर्म र परम्पराअनुसार अन्तिम संस्कारको वातावरण भएको घाटको व्यवस्था तत्कालै गर्न नसकिने काम पनि होईन ।
म सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत सम्बन्धित मन्त्रालय र त्यस क्षेत्रमा कार्यरत अनेकौँ सरकारी एवम् गैरसरकारी निकायहरुलाई सोध्न चाहन्छु – के विश्वको एकमात्र हिन्दु अधिराज्यको सरकार र संस्थाहरु यति हदसम्म बेकम्मा र लाचार भइसके कि आराध्यदेव पशुपतिनाथका चरणमा स्वजनहरुको अन्तिम संस्कार गर्न वा अन्य धार्मिक कर्मका निम्ति आउनेहरुका लागि स्वच्छ अजप्रवाहको व्यवस्थापनसमेत गर्न सक्दैनन् ? हिन्दु धर्मका नाममा हामी संसारभरिबाट मानिसहरु बोलाएर अनेकौँ सभा–सम्मेलनहरु गराउन सक्छौँ, करोडौँ बराबरको अन्न यज्ञमा हवन गर्न सक्छौँ । तर त्यति गर्न सक्ने हामी, के एउटा आर्यघाट सफा राख्न सक्दैनौ ?
मलाई लाग्दैन कि हाम्रो सरकारको अवस्था यति हदसम्म खस्यो कि एउटा घाटसम्म सफा राख्न नसकोस् । म एक नागरिकको हैसियतले सम्माननीय प्रधानन्त्रीज्यूलाई पशुपति आर्यघाट क्षेत्रमा बग्ने पानीलाई हाम्रा सनातन हिन्दु परम्पराहरुको उत्तरदायित्व वहन गर्न लायकसम्मको हुने गरि तत्काल व्यवस्थित गर्न सार्वजनिक आग्रह गर्छु । यदि सरकारको सम्बन्धित मन्त्रालय वा उक्त मन्त्रालयबाट अधिकारप्राप्त निकायहरु विश्वको एकमात्र हिन्दु राष्ट्रका आराध्यदेव भगवान पशुपतिनाथसँग सम्बन्धित यो दायित्व तत्काल पुरा गर्न आफुलाई असमर्थ ठान्छन् भने म यसै पत्रमार्फत राष्ट्रलाई बचन दिन्छु – म मेरो व्यक्तिगत साधनस्रोत र समान धारणा राख्ने सर्वसाधारण नेपालीहरुको सदिच्छाले आजको मितिबाट ६ महिनाभित्र पशुपति आर्यघाट क्षेत्रलाई यो अवस्थामा पु¥याउनेछ, जहाँ कुनै अर्को पुत्रलाई आफ्नी जननीको अन्तिम संस्कार गर्न जाँदा मजस्तै पीडा महसुस गर्न नपरोस् ।
यस अर्थमा सम्माननीय प्रधानमन्त्रीज्यूले उपयुक्त ठानेको निम्न दुईमध्ये कुनै एक निर्णय गर्न विनम्रतापूर्वक अनुरोध गर्छु । कि त सरकारले तत्कालै आर्यघाट क्षेत्रमा बग्ने पानीलाई हिन्दु समाजले आफ्ना वैदिक परम्पराहरुको उत्तरदायित्व वहन गर्नसक्ने स्थितीमा पु¥याउनुप¥यो । होइन भने यो सार्वजनिक कार्यको दायित्व बोक्न तयार व्यक्तिलाई त्यो कामको जिम्मा पनि सार्वजनिक तवरबाटै दिनुप¥यो । सम्माननीय प्रधानमन्त्रीज्यूले यी दुईमध्ये जुनसुकै विकल्प छान्नुभएमा पनि उत्तिकै अनुग्रहित रहनेछु ।
कान्तिपुर दैनिक
२०५७ भाद्र ९