अर्थसचिव रामेश्वर खनालको राजिनामा प्रकरण संसददेखि सर्वत्र चर्चामा छ । यस प्रकरणमा तिमीलाई पनि तानिदैछ भनेर केही झिनामसिना स्वर मेरा कानमा पनि परे । सुरुमा मैले यसलाई त्यति गम्भीरतापर्वूक किन लिइन भने विगतमा पनि मैले यस्ता घटना धरैपटक भोगिसकेको छु । राजनीतिमा कुनै राजनेतासँगको सम्बन्ध सधैंजसो विवादमा पर्ने गर्छ । कसैको राजनीतिक जीवन वा पद धारापमा पार्न उसका इष्टमित्र वा अझ उद्योग व्यवसायमा संलग्न व्यक्ति छन् भने उनीहरुलाई समेत तान्ने परम्परा पुरानै हो । त्यसैले अहिले नेपथ्यमा यी हल्ला चलाइनुु मेरालागि नौलो थिएन । मुलुकमा प्रतिष्ठित सञ्चारमाध्यमहरुले यस विषयमा मसँग जोडने काम गरेका छैनन् । तर हाम्रा केही नेताहरुले चाहिँ यसलाई कानेखुसीको विषय बनाएको भन्ने थाहा पाएपछि मैले केही कुरा लेख्नैपर्ने महसुस गरेको छु ।

माननीय उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीसँग लगभग २० वर्षदेखि मेरो सम्बन्ध रहँदै आएको छ । उहाँ २०५१ सालमा एमाले अल्पमतको सरकारको अर्थमन्त्री हुँदा म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिए । नेपालमा कम्युनिष्ट पार्टीको पहिलो सरकार बनेका कारण अन्तराष्ट्रिय समुदाय र निजी क्षत्रे एमालेको सरकारप्रति सशंकित हुनु स्वभाविकै थियो । एमाले सरकारप्रति आशंका चुलिएको बेला बीबीसी लन्डनले मसँग कम्युनिष्ट पार्टीको सरकारले उद्योगधन्दा राष्ट्रियकरण गरिदिने हो कि ? वा अन्य राज्य नियन्त्रित माध्यमद्धारा निजी क्षेत्रविरोधी नीति पो लिने हो कि ? भनेर सोध्यो । मैले यो सरकारप्रति हाम्रो पूर्ण विश्वास छ यसले निजी क्षेत्रलाई अप्ठ्यारोमा पार्ने कुनै काम गर्ने छैन भनेँ । यस भनाईले एमाले सरकारलाई निजी क्षेत्रको तर्फबाट विश्वास प्राप्त भयो र सहयोग पनि पुग्यो ।

त्यसपछि संस्थागत र व्यक्तिगत रुपमा भरतमोहनजीसँग मेरो सम्बन्ध बढ्दै गयो । अर्थमन्त्री भएको समयमा होस् वा नभएको बेला नेपालका् अर्थतन्त्र, निजी क्षेत्र र आर्थिक विकासका विषयमा उहाँसँग नजिकमा रहेर काम गरेका छौँ । उहाँमात्र होइन, सबैजसो अर्थमन्त्रीज्यूहरुसँग र अझै भन्ने हो भने आर्थिक क्षेत्रका सबै जिम्मेवार पदमा बस्नेहरुसँग मेरो राम्रो सम्बन्ध रहँदै आएको छ ।

आफ्नो जीवनकालमा मैले सदैव स्वाभिमानको लडाइँ लड्दै आएको छु, जुन नेपालको समग्र निजी क्षेत्रको हैसियत वृद्धिका निम्ति हो । हाम्रो निजी क्षेत्रलाई यही हिमाली मुलुकको भूगोलभित्र सीमित नगरी विश्वव्यापी बजारमा प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने मलाई सधैँ विश्वास रह्यो । मैले त्यसको वकालतमात्रै गरिन, आफै सरिक पनि भएँ । इतिहास साक्षी छ – मैले मेरा निजी काम वा निजी उद्देश्य पूर्तिका लागि भरतमोहनजी वा अन्य कुनै अर्थमन्त्री र राजनीतिज्ञहरुसँग सम्बन्ध त के मैले नेतृत्व गरेको संस्था वा त्यो पदको भ¥याङसमेत कहिल्यै आवश्यक देखिन र प्रयोग गरिन पनि । मैले कुनै बेला आफ्नो पद वा संस्थालाई गलत रुपमा प्रयोग गरेको भए, कृपया यो कुरा सार्वजनिक गरिदिन सबैलाई अनुरोध गर्छु । यहि आग्रह म माननीय भरतमोहनजी, रामेश्वर खनालजी एवं अर्थमन्त्रालयका राजश्व प्रशासनलाई पनि गर्छु ।

तीन÷चार साता अघिको कुरा हो, मेरा मित्र एवं सीएनआईका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले फोनमार्फत मलाई भन्नुभयो– के तिमी अर्थसचिव रामेश्वर खनाललाई सरुवा गर्ने अभियानमा लागेको छौ ? खनालजीले चित्त दुखाउनुभएको छ । खनालजीले भन्नुभएको छ, यदि तिमी उहाँको सरुवा चाहन्छौ भने राजिनामा तिम्रो हातैमा राखिदिन तयार छु भनेर । बस्नेतजीको कुरा सुन्दा म छक्क परेँ, किन यस्तो हल्ला चलाइएको होला !

जब मैले यस्तो सुनेँ, तत्काल अर्थमन्त्री भरतमोहनजीसँग समय मागेँ र भेटेर सोधेँ– मैले कहिल्यै रामेश्वर खनालजीलाई सरुवा गर्न भनेको छु ? उहाँले पनि आश्चर्य प्रकट गर्नुभयो । तपाईहरुबीच कुनै असमझदारी छ भने प्रस्ट पार्नुस, बरु म पनि सहयोृग गर्छु भनेर । अर्थमन्त्रीजीले मलाई विश्वास दिलाउनुभयो, रामेश्वरजीलाई सरुवा गर्ने कुनै सोच छैन, निर्धक्क काम गरौँ भन्नुभएछ । पछि रामेश्वरजीले नरेन्द्र  बस्नेतलाई फोन गरेर भन्नुभएछ– मलाई अर्थमन्त्रीले सबै कुरा भन्नुभयो । आफूले भनेका कुरा किन विनोदजीलाई सुनाएको समेत भन्नुभएछ उहाँले ।

म क्षमाप्रार्थी छु व्यक्तिगत तबरमा भएका यी कुरा सार्वजनिक गर्नुपरेकोमा । मलाई विश्वास छ, मेरो यो पत्र कहीँ न कहीँ रामेश्वरजीले पढ्नुहुन्छ । मैले माथि उल्लेख गरेको कुरा गलत छ भने कृपया झुठो हो भनेर सार्वजनिक गरिदिनुहोला र सही छ भने ठीक हो भनिदिनुहोला । कनिभने आज जब तपाईले अर्थसचिव पदबाट राजिनामा गर्नुभयो, कुनाकाप्चा र अँध्यारा कुनाहरुबाट झिनो स्वरमा भनिदैछ– तपाईलाइ राजिनामा गराउनमा म पनि जिम्मेवार छु । यसका अलावा हामीबीच कुनै रिस, राग, द्धेष र विमति थियो भने पनि सार्वजनिक गरिदिँदा मेरो कुनै आपत्ति हुने छैन, बरु अनुग्रहित नै हुनेछु ।

अर्थसचिवको राजीनामासँग जोडेर अर्को हल्ला पैmलाईएको छ, चौधरी ग्रुपले क्ष्याट छली गरेको भन्ने प्रसंगमा । तीन महिनाअघि माननीय सुरेन्द्र पाण्डे अर्थमन्त्री रहेकै समयमा हाम्रो परिवारभित्र व्यवस्थापन तथा स्वामित्वकै दृष्टिकोणबाट समेत स्वतन्त्र रुपमा सञ्चालित कम्पनीलाई पनि यस प्रकरणमा कर निर्धारण गरिएको खबर मैले एउटा पत्रिका र परिवारजनबाट थाहा पाएको थिएँ । यस्तो कर निर्धारणलई कम्पनीले कानुनी व्यवस्था बमोजिम करदाताको अधिकार प्रयोग गर्दै प्रतिरक्षा गर्दैआएको छ । रामेश्वर खनाल स्वयम्ले हालै एउटा अन्तर्वार्तामा भन्नुभएको छ, एकथरी फर्मले हिसाब–किताब तलमाथि गरेर कर छली गरेका छन् । विश्वभरीको कर प्रशासनमा यो सामान्य प्रवुत्ति हो । आन्तरिक राजश्व कार्यालयले यसमा दण्ड–जरिवाना असुलेर कारबाही टुङ्ग्याउन सक्छ ।

चौधरी व्यावसायिक घरानाभित्र पनि विभिन्न कम्पनी स्वतन्त्र रुपले हामी सबै भाईहरुको नेतृत्वमा सञ्चालन हुँदैआएको छन्, तापनि यस परिवारको जेठो तथा चौधरी ग्रुपको अध्यक्षको नाताले म के भन्न चाहन्छु भने चौधरी ग्रुप (हामी तीन भाई) सँग सम्बन्धित उद्योग, व्यवसायका माध्यमद्धारा हामीले वार्षिक करिब ५ अर्ब राजश्व सरकारलाई बुफाउँछौ । यो नेपालको कुल राजश्वको करिब ३ प्रतिशत हो । चौधरी ग्रुप अन्तर्गत रहेको ४० भन्दा बढी उद्योग÷व्यवसाय प्रोफेसनलहरुले सञ्चालन गर्छन । कमसेकम तीन हजारको संख्यामा भ्याटमा दर्ता भएका सप्लायर्समार्फत हाम्रा कम्पनीहरुले सेवा तथा वस्तु खरिद गदर्छन । यस्तो पृष्ठभूमिमा कतिपय अवस्थामा सरकारमा दर्ता भएका यस्ता सप्लायर्स विवादमा पर्छन भने मैले त के मेरा ती ४० प्रतिष्ठानका बिजिनेस युनिट हेडले समेत सधैँ लेखाजोखा  गर्नसक्ने कुरा होइन । जब कुनै अप्रिय घटना हुन्छन्, हाम्रो दशकौँ पुरानो व्यवसायिक योगदानलाई विर्सिएर नियतवश कर छल्नेको पंक्तिमा राख्नु कति न्यायसंगत हो, यसको लेखाजोखा इतिहासले गर्नेछ । मैले माथि नै प्रस्ट पारेँ, चौधरी ग्रुपले वार्षिक ५ अर्बको राजश्व सरकारलाई बुझाउँदै आएको छ । ५ अर्बको राजश्व तिर्नेले केही करोड रुपैँया राजश्व  छल्ने प्रपञ्च गर्छ  र यसको लागि अर्थसचिवको सरुवा गराउने योजना बनाउँछ भनेर लाञ्छना लगाइनु विकृत मानसिकताको उपजबाहेक केही हुन सक्दैन ।

सम्पूर्ण घटनाक्रममा देखिएका पात्रहरुको शूक्ष्म अध्ययनपछि थाहा भयो– हामीलाई भ्याट प्रकरणमा मुछ्ने उद्देश्य त सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल पो रहेछ । कुर्सी कसरी आफ्नो पोल्टामा पार्ने भन्ने फोहोरी राजनीतिको परिणति रहेछ । त्यतिमात्र होइन, यस प्रकरणलई सकी–नसकी मसँग जा्ेड्न खोज्नुको अर्थ मेरो राजनीतिक जीवन सुरु नहुँदै समाप्त पर्ने खेल रहेछ । एमालेका तर्फबाट सभासद भएपछि मेरो राजनितीक वृतमा बढ्दै गएको मित्रता एवं सद्भाव र सभासदको रुपमा देखिएको भूमिकाको पृष्ठभूमिले मलाई आफ्नो प्रतिस्पर्धी देख्नेहरुको एउटा जमातको टाउको दुखेको रहेछ । यो समुह एक तीरले दुई निसाना साँध्दै मेरो राजनीतिक जीवनको सिकार गर्ने अभियानमा लागेको रहेछ । यो घटनाको आडमा मैले उद्योग वाणिज्य महासंघ र सीएनआईको पदाधिकारी एवं सभासदका हैसियतमा गरेका कामसमेत निमिट्यान्न पार्न सकियोस् भन्ने चाहना लुकेको मैले देखेँ ।

एमालेमात्र होइन, माओवादी कांग्रेस लगायत सबै दलका श्रद्धेय नेताहरुसाग मेरो सविनय आग्रह छ– विनोद चौधरीलाई पैसा कमाउन राजनीति वा सरकारी पद चाहिदैन । उसले राजनीतिमा खर्चिने समयमात्र आफ्नो व्यापारमा थप खर्चिन पायो भने आय अहिलेभन्दा धेरै थपिन सक्छ । म तपाईहरुलाई यो पनि स्मरण गराउँ त्यो आय कुनै सानो आकारको पक्कै हुने छैन । पैसा कमाउनका निम्ती राजनीति तिनलाई चाहिएला, जसले यो फोहोरी खेल सुरु गरेका छन् । राजनिती मेरा लागि मैले ३० वर्षमा आर्जन गरेको अनुभवको धरातलमा उभिएर आर्थिक दृष्टिकोणबाट समुन्नत राष्ट्रनिर्माण गर्ने प्लेटफर्म बाहेक केही हैन । राष्ट्रले मलाई जुन पहिचान र आदर दियो, त्यसको एउटा सानो हिस्सा फर्काउने मौका हो ।

ममाथि अर्को आरोप पनि छ, वर्तमान सरकार गठनमा मेरो गहिरो भूमिका रह्यो भन्ने । आज म विनाहिच्कीचाहट भन्न सक्छु– हो, सरकार निर्माणमा मैले सकारात्मक तथा प्रभावकारी भूमिका निर्वाह गरेकै हुँ । किनभने मुलुक लामो समयदेखि सरकारविहीन आवस्थामा थियो, जसका कारण अन्तराष्ट्रिय समुदायमा नेपालको छवि थप धमिलिदैँ थियो । देशको स्थिरताका लागि शान्ति प्रक्रियालाई टुँगोमा पु¥याउन र नयाँ संविधान बनाउन मैले आफ्नो पनि नैतिक जिम्मेवारी सम्झेँ । मलाई सार्वजनिक मञ्चमा सम्बोधन गर्दा भनिन्छ– तपाई एक सफल उद्योगपति तर असफल सभासद मैले यस्तो सुन्न नपरोस् भनेर राजनीतिक समस्या समाधान गर्न दिनरात प्रयास गरेँ । त्यसका लागि मैले एमाले र माओवादी मात्रै होइन कांग्रेस र फोरमसमेतको नेतृत्वसँग धेरै कुरा गरेकै हुँ, छलफलको माध्यम बनेकै हुँ । नेपालको संक्रमणमा अल्झिएको राजनीतिक परिदृश्यमा एक सभासद र उद्योगपतिको हैयितमा मात्र नभई एक जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्नका लागि पनि यो कदम जरुरी थियो । सरकारमा कांग्रेस पनि सहभागी हुनुपर्छ भन्ने मान्यता रह्यो, जुन कुराको ज्ञान कांग्रेसका ती नेताहरुलाई पनि छ, जो छलफलमा सहभागी थिए । तर कसले पहिले नेतृत्व लिने भन्ने चक्करमा त्यो सम्भव हुनसकेन ।

नयाँ संविधान निर्माण गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याई मलुकलाई आर्थिक विकासको मार्गमा प्रवेश गराउनुपर्छ भन्ने मेरो दुढ विश्वास छ । यदि प्रमुख पार्टीका नेताहरुमा एउटा नक्कली भ्याट प्रकरणको दलाल वा एउटा यस्तो व्यक्ति जसले यो समीकरण निर्माणको खुला विरोधमा उत्रेका सबै स्वदेशी–विदेशी शक्तिसँग सिधा फरक मत राख्दा निम्तिनसक्ने जोखिमसमेतको पर्वाह नगरी एउटा बृहत उद्देश्यका पक्षमा उभिने को बीचमा फरक ठम्याउने क्षमता छैन भने यो देशको राजनीतिलाई एवं त्यस्ता दलहरुलाई र तिनको नेतालाई कसैले जोगाउन सक्दैन ।

मलाई यो घटनाले निराश होइन, दुःखी बनाएको छ । राजनीतिको माध्यमबाट राष्ट्रमा केही गर्ने मेरो संकल्पलाई झनै बल पु¥याएको छ । मैदानबाट भाग्ने मेरो कहिल्यै बानी भएन । यस्तो अफवाह फैलाउनेहरुलाई मेरो आग्रह छ, देशका नेताहरुलाई त्यति हल्का रुपमा प्रस्तुत नर्गुस, बरु विमति छन् भने आउनुस सार्वजनिक मञ्चहरुमा । यी सबै मुद्दा एवं लगाएका आरोप र तिनको गुण–दोषबारे खुलेर बहस गरौँ ।

कान्तिपुर दैनिक
४ अप्रिल, २०११