पलेटि उत्सवमा फतेमान ज्यू को चिनारी
नमस्कार !!!
गायक फत्तेमान नेपाली संगीत साधनाको जिउँदो इतिहास हुनुहुन्छ । उहाँको ओजिलो आवाजले नेपाली हृदयभित्रका आँसु, हाँसो, विरह र आशा अभिव्यक्त गर्छ । उहाँका सरल गीत र गहन अभिव्यक्तिले संगीतका पारखीलाई त लठ्याउँछ नै, संगीतमा रुचि राख्ने जोकोहीलाई उहाँको आवाजको माधुर्यले घन्टौं बाँध्न सक्छ । फत्तेमान दाइले गाउँदा सुन्नेहरूलाई उहाँको मधुर कण्ठबाट आफ्नै कथा उजागर भइरहेजस्तो लाग्छ ।
गायक फत्तेमानको स्वरमा रहेको यही जादुमयी गहिराइ महसुस गरेरै हुनुपर्छ, हामीले अत्यन्त मन पराएका अर्का गायक, फत्तेमान दाइका दौंतरी नारायण गोपाल उहाँलाई भन्ने गर्नुहुन्थ्यो रे, ‘महाराजले गीत त गाउनै पर्छ ।’ नारायण गोपाल दाइ फत्तेमान दाइलाई प्रेमपूर्वक ‘महाराज’ भन्ने गर्नु हुन्थ्यो । अहिले पनि जब हामी फत्तेमान दाइलाई भेट्छौं, उहाँको आवाज सुन्छौं, हामी हार्दिकतापूर्वक आग्रह गर्न अग्रसर हुन्छौं, “दाइ तपाईंले अझै गाइरहनुपर्छ ।”
करिब ६ दशकदेखि गाइरहनुभएका फत्तेमान दाइले पलेँटीको आग्रह यसपटक पनि स्वीकार्नुभयो । यस्तो सुन्दर क्षणको प्रत्यक्ष साक्षीका रूपमा चौधरी ग्रुप र म विनोद चौधरी संलग्न हुन पाएकोमा मलाई गर्व महसुस भएको छ । अरु धेरै संगीतका पारखीहरुको माझमा उहाँसँग अनौपचारिकरुपमा सँगै बसेर उहाँका गीतहर सुन्ने मौका आदरणीय सीपी लोहनीज्यूले जुराईदिनु भएको थियो । ती प्रत्येक क्षणहरु ज्हिले पनि अविश्मरणीय रहनेछन् ।
फत्तेमान दाइले यस्तै साँझमा धेरै प्रशंसकबीच गीत गाएको एक दशक बितिसकेको जानकारी पाउँदा म अचम्मित भएको छु । यस्ता सांगीतिक कार्यक्रम बारम्बार हुनुपर्ने हो, तर हुन सकेका छैनन् । यसलाई निरन्तरता दिन तपाईंहरूजस्ता प्रबुद्घ महानुभावहरूको व्यक्तिगत र हामीजस्ता नीजि क्षेत्रका व्यवसायिक समूहहरूको सहकार्यको खाँचो छ । चौधरी समूह जो सिजीको ब्राण्ड अन्तरगत राष्ट्रभरी परिचित छ, सबैको माया पाएको छ । यसले आफ्नो समाज सँगको सहकार्यलाई उच्च प्राथमीकता दिँदै विभिन्न कार्यक्रममा आफ्नो संलग्नता जनाउँदै आएको छ । चाहे त्यो सिजी अपरेशन दृष्टि होस् जस अन्तरग तगत वर्ष १ हजार १ सय ५३ जना मोतियाविन्दुको विरामीको आँखाको शल्यक्रिया गरियो र यो वर्ष ३ हजार पु¥याउने हाम्रो संकल्प छ । चाहे सिजी ज्ञान उदय छात्रवृत्ति नै किन नहोस, जस अन्तरगत हालसम्म ४० वटा भन्दा बढी सामूदायिक विद्यालयका २०० जना विद्यार्थीहरुलाई वर्षैपिच्छे छात्रवृत्ति प्रदान गरिसकेको छ । र, यो क्रम हरेक वर्ष बढ्दो छ । HCI(हिमाल क्लाईमेट इन्सिएटिभ ) सँगको सहकार्यमा Nation First अर्थात राष्ट्र पहिले भन्ने कार्यक्रमको प्रारम्भिक तयारी हालै सम्पन्न भएको छ । यस कार्यक्रम मार्फत १६ हजारभन्दा बढी युवा परिचालन गरेर विभिन्न प्रकारका सामाजिक, आर्थिक एवम् रोजगारिमूलक गतिविधिलाई अगाडी बढाउने हाम्रो लक्ष्य छ । यस्तै गतिविधिको एउटा कडीको रुपमा हामीले आजको साँझलाई तपाईँ हाम्रो सहकार्यको प्रारम्भिक साँझ सम्झँदै कार्यक्रम अघि बढाउँ । म र चौधरी समूहलाई यस्तो सुन्दर साँझको सहयात्री बन्ने अवसर दिएकोमा नेपालयलाई धन्यवाद दिँदै फत्तेमान दाइलाई तपाईंहरू सामु आमन्त्रण गर्दछु । फत्तेमान दाइ !