राजनीतिमा म
म व्यवसायिक पृष्ठभुमिबाट आएको भए पनि राजनीतिसँग मेरो सम्वन्ध पुरानो हो । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष, नेपाल उद्योग परिसंघको संथापक अध्यक्षका रुपमा म मूलप्रपवाहको राजनीतिसँग जोडिदै आएँ । कस्तो पनि लाग्छ भने विगतका ति दिनहरूलाई फर्केर हेर्दा म राजनीतिबाट जति टाढा रहन खोजे पनि राजनीति म बाट कहिल्यै टाढा भएन । म चाहेर वा कतिपय समयमा नचाहेरै पनि राजनीतिसँग जोडिईरहेँ । यो मेरो विगतको कुरा हो, मेरो इतिहास हो जुन मैले आफ्नो आत्मकथामा लेखेको छु ।
२०४६ सालको आन्दोलनमा म प्रजातन्त्र पुनस्र्थापनाको पक्षमा सक्रिय रुपमा सहभागि बनेको थिएँ । नेपाली कांग्रेसका नेताहरु किसुनजी (कृष्णप्रसाद भट्टराइ), योग प्रसाद उपाध्याय र अरु नेताहरुसँग बुबाको राम्रो सम्बन्ध थियो । उहाँहरु खिचापोखरीमा रहेको हाम्रो घरमा आइरहनु हुन्थ्यो । मैले प्रजातन्त्र पुनस्र्थापनाकालागि भएको आन्दोलनमा आफ्नो बुताले भ्याएसम्म सक्रिय बने । मलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने अर्का नेता थिए, अर्जुन नरसिंह केसी जो सरस्वति क्याम्पसमा मेरो गुरू पनि हुनुहुन्थ्यो ।
अवस्था कस्तो थियो भने, २०४६ सालको जनआन्दोलन सफल नभइदिएको भए मेरो पत्तासाफ नै हुन्थ्यो होला किनकि जन आन्दोलनलाई सघाएको भन्दै म सहित केहि व्यवसायीहरूलाई गिरफ्तार गर्ने थियो, तत्कालीन प्रधानमन्त्री मरिचान सिंह नेतृत्वको सरकारको । जनआन्दोलन सफलभयो । आन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभयो, किसुनजी । उहाँले देशको अर्थतन्त्रमा चौधरी परिवारको योगदानबारे सार्वजनिक मञ्चमै बोल्नुभयो । उहाँ प्रधानमन्त्री बन्नु भएपछि बालुवाटारमा मेरो आउजाउ भइरहन्थ्यो । एकदिन किसुनजी बालुवाटारबाट बिनाकुनै सुरक्षाकर्मी मेरो गाडीमा अगाडिको सिटमा बसेर हाम्रो ठमेलको घर आउनुभयो, चालकको सिटमा थिए म । खाना खाइसकेपछि मैले गाडीमा उहाँलाई बालुवाटार पुर्याएकाे थिएँ ।
सन्त, सादगी नेता किसुनजीको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्व थियो । उहाँ जति सरल हुनुहुन्थ्यो, सरकार सञ्चालनमा उत्तिकै प्रभावशाली पनि । उहाँले मलाई धेरै पटक आफ्नो आर्थिक सल्लाहकार बन्न प्रस्तावगर्नु भएको थियो । उहाँकै मन्त्रिमण्डलमा पर्यटन मन्त्री रहनु भएका नीलाम्बर आचार्यले मलाई नेपाल बायू सेवा निगमको सञ्चालक समिति सदस्यमा मनोनित गर्नुभयो । जलस्रोत मन्त्री रहनु भएका महेन्द्र नारायण निधिले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गर्नुभयो । नेपालको राजनीतिक परिवर्तन सँगै निजी क्षेत्रको प्रतिनिधि मण्डल नयाँ दिल्ली जाँदै थियो । किसुनजीकै पहलमा हामीले भारतीय प्रधानमन्त्री चन्द्र शेखरलाई भेट्यौं । नेपालको उद्योग वाणिज्य क्षेत्रको इतिहासमा निजी क्षेत्रको प्रतिनिधि मण्डलले भारतीय प्रधानमन्त्रीलाई भेटेको त्यो नै पहिलो पटक हो ।
गिरिजाबाबुसँग मेरो चिनजान पुरानै हो । २०३५/३६ सालतिर विराटनगरमा उहाँसँग मेरो भेट भएको हो । र, त्यसपछिका दिनहरूमा हामी सम्पर्कमै रहन्थ्यौँ । २०४८ सालको आमनिर्वाचन पछि उहाँ प्रधानमन्त्री बन्नुभयो । कांग्रेसको एकल सरकार बन्याे । अर्थतन्त्रका विषयमा कुनै सल्लाह आवश्यक भए मलाई बोलाउनु हुन्थ्यो । प्रधानमन्त्रीका रुपमा गिरिजाबाबु पहिलो पटक भारत भ्रमणमा जाँदा निजी क्षेत्रको नेतृत्व गर्दै म पनि टोलीमा सहभागी थिएँ । उहाँले निजी क्षेत्रसँगको कार्यक्रमका लागि भाषण लेख्ने जिम्मा मलाई दिनुभएको थियो । त्यसपछि म उहाँसँग अन्य देशको भ्रमणमा पनि सामेल भए ।
एउटा व्यक्तिले आफ्नो जीवनकालमा आफुलाई सफल बनाउन सक्छ । एउटा उद्योगग्राम बनाउन सक्छ । केही स्कूल बनाउन सक्छ । केही अस्पताल बनाउन सक्छ । तर देशमा वृहत परिवर्तन गर्न राजनीतिबाट मात्रै सम्भव छ भन्ने मेरो अनुभव रह्यो । पञ्चायतकालमै स्थापित बुढानिलकण्ठ स्कुल आजसम्म किन दोस्रो बुढानिलकण्ठ बन्न सकेन ? देश विकासको स्पष्ट दृष्टिकोण लिएर राजनीतिमा आउने हो भने एउटा हस्ताक्षरबाट ७५ वटै जिल्लामा बुढानिलकण्ठ स्कुल बनाउन सकिन्छ भन्ने दृढ विश्वास म मा छ । मलाई यो देश बनाउन सकिन्छ भन्ने हुटहुटी बढ्दै थियो, जसका लागि राजनीतिमा प्रत्यक्ष संलग्नता निर्विकल्प थियो । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्ने देखि उद्योग परिसंघलाई स्थापित संस्था बनाउँदै गर्दा म राजनीतिबाट टाढा रहन सकिन ।
२०५० को दशकमा देशले कहालीलाग्दो सशस्त्र युद्धको सामना गर्नुपर्यो । दश वर्ष लामो सशस्त्र युद्धले उभो लाग्दै गरेको मुलुकको अर्थतन्त्रमा ठूलो संकटको स्थिति सिर्जना गर्यो । विकास निर्माणका काम प्रभावित भए नै, साथै निजी क्षेत्र पुरै त्राहिमामको अवस्थाबाट गुज्रियो । तत्कालीन सात दल र सशस्त्र युद्धको नेतृत्व गरेको नेकपा माओवादी बीचको समझदारी अनुसार देश शान्तिपूर्ण बाटोमा अगाडि बढ्यो । बाह्र बुँदे समझदारी हुँदै देश फेरि नयाँ राजनीतिक व्यवस्था तर्फ उन्मुख भयो । संविधान सभाको निर्वाचन भयो । मुलुकमा गणतन्त्र स्थापना भयो ।
संविधान सभामा आफुलाई ‘क्रान्तिकारी’ मान्नेहरुको वर्चश्व थियो । र, संविधान लेख्ने जिम्मेवारीमा रहेको संविधान सभाको यो वनोटले लोकतान्त्रिक विचार राख्नेहरूलाई झस्काएको पनि थियो । राजनीतिक स्वतन्त्रता, वैयक्तिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, लगानीको अधिकार, निजी सम्पत्ती प्रतिको अधिकार जस्ता लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरूलाई जोगाउन कठिन पर्ला कि भन्ने जस्तो अवस्था देखिएको थियो । उद्योग धन्दालाई राष्ट्रियकरण गर्ने जस्ता नारा अगाडि सारिएका थिए । यस्तो पृष्ठभुमिमा संविधानलाई लोकतान्त्रिक मूल्यमान्यताको लिकबाट बाहिर नजाओस् भनेर हामी पनि चिन्तित थियौँ । यहि मान्यता र जिम्मेवारी बोधकासाथ राजनीतिक दलमा सक्रिय नरहेका र व्यवसायिक पृष्ठभुमिका हामी केही व्यवसायीहरू पनि संविधान सभामा जाने निचोड निकालिएको थियो । यस्तो मान्यता बोक्ने हामीहरू फरक फरक दलबाट संविधान सभामा पुगेका थियौँ । मलाई नेकपा एमालेले समर्थन गरेर संविधान सभामा लगेको थियो । उक्त संविधान सभाले संविधान लेख्ने जिम्मेवारी पूरा गर्न त सकेन तर हामीले हाम्रो मान्यतालाई भने स्थापित गर्नमा धेरै हदसम्म सफलता हासिल गर्यौँ र लोकतान्त्रिक संविधान निर्माणको आधार तयार गर्नमा हाम्रो भूमिका महत्वपूर्ण रह्यो भन्ने मलाई लाग्छ । यसरी एमालेको समर्थनमा संविधान सभामा गएका कारण मलाई कम्युनिष्ट बनेको आरोप पनि लाग्यो । मैले त्यो बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘तपाई पनि कम्युनिष्ट’ भन्ने प्रश्नहरूको सामना गर्नुपर्यो । म एमालेको समर्थनमा सभासद रहेकै समयमा सार्वजनिक मञ्च र टेलिभिजन मार्फत् मैले प्रष्ट शब्दमा भनेको थिएँ– म कम्युनिष्ट बनेर एमालेको समर्थनमा सभासद भएको होइन बरू एमालेले कम्युनिज्म छोडेर हाम्रो बाटोमा आएको हो । मेरो यहि प्रष्ट सोंचका कारण पहिलो संविधान सभाको कार्यकाल सकिए पछि एमालेको तर्फबाट सभासद बन्ने मलाई कुनै रूचि भएन । २०७० सालमा एमालेले मलाई नवलपरासी –१ (हाल नवलपुर – १) बाट चुनाव लड्न प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला विरुद्ध चुनाव लड्ने मेरो कुनै सोंच थिएन । नेपालको लोकतान्त्रिक प्रणालीका प्रणेता स्वर्गिय वीपी कोइरालाका पुत्र शशांक विरुद्ध चुनाव लड्ने कुरा मलाई उचित लागेन । किनकि वीपीप्रति मेरो सदैव उच्च सम्मान रह्यो । मैले टिकट अस्वीकार गर्दै एमालेलाई धन्यवाद दिएँ । एमालेसँगको मेरो सम्वन्ध दूर बन्यो ।
२०७४ सालको आमनिर्वाचन अघि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मलाई औपचारिक पत्र लेखेर पार्टीमा आउन र सक्रिय राजनीतिमा लाग्न आग्रह गर्नुभयो । उहाँले लिखित पत्र मार्फत् कांग्रेसमा आउन र देशको आर्थिक विकासको नेतृत्व लिएर काम गर्न सार्वजनिक रुपमै आह्वान गर्नुभएको थियो । नेपालमा लोकतन्त्र स्थापनाका लागि ऐतिहासिक भूमिका खेलेको र उदार अर्थतन्त्रको पक्षपोषक पार्टी भएकाले मलाई कांग्रेसमा सक्रिय राजनीतिमा होमिनका लागि सोचिंरहनु पर्ने अवस्था थिएन । नेपालका कम्यूनिष्ट पार्टीहरु एमाले र माओवादीले मोर्चाबन्दी गरेर चुनाव लडिरहेका बेला मैले ४० वटा भन्दा बढि निर्वाचन क्षेत्रमा पुगेर कांग्रेसका पक्षमा मत मागे । पार्टीको निर्णय अनुसार २०७४ सालमा म समानुपातिक तर्फबाट सांसदमा निर्वाचित भएँ ।
कांग्रेसको १४ औं महाधिवेशनमा वडाबाटै चुनाव लडेर आएँ । कतिपयले मलाई देशकै स्थापित व्यवसायी भएर वडामा चुनाव लड्न जानहुँदैन भन्ने सल्लाह पनि दिएका थिए । तर म वडाबाट चुनाव जित्दै केन्द्रीय समितिमा पनि लोकप्रीय मतका साथ विजयी भए । २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएँ । चुनावको टिकटका लागि मलाई अन्य जिल्लाबाट पनि प्रस्ताव आएका थिए तर नवलपरासीसँगको ३० वर्ष लामो मेरो व्यवसायिक सम्बन्धलाई राजनीति मार्फत् जनस्तरसम्म जोड्न नवलपरासी १ लाई नै प्राथमिकतामा राखेँ । राजनीति मार्फत् समुन्नत नेपाल निर्माण गर्न सकिन्छ भन्ने दृढ इच्छा शक्तिले नै मलाइ आज यो क्षेत्रमा सक्रिय हुन प्रेरित गरिरहेको छ ।