मेरो सपना, समृद्ध नेपाल

मलाई लाग्छ, विविध विधामा ‘ट्र्याक रेकर्ड’ कायम गरेका, आफ्ना कामलाई परीक्षणको भट्टीमा हालेर सफलता हासिल गरेका व्यक्तिहरू राजनीतिमा आउनुपर्छ । र, समग्र देशको विकासमा हातेमालो गर्नुपर्छ । अनि मात्र देशले विकासको बाटोमा कोल्टे फेर्छ ।

मैले सधैं भन्ने गरेको छु— राजनीतिबाट म टाढा जान खोजे पनि राजनीति मबाट टाढा हुन सकेन । जीवनमा म कुनै न कुनै रूपमा राजनीतिमा जोडिइरहें, यसलाई अपनाइरहें ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) जस्ता व्यावसायिक संस्थामा रहेर काम गर्दा होस् वा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) जस्ता संगठनमा आबद्ध हुँदा नै किन नहोस्, मैले राजनीतिलाई निकटबाट अनुभव गर्ने अवसर पाएँ । राजनीति र सरकारहरूसँग नजिक रहेर काम गरें ।

एफएनसीसीआई र सीएनआईमा बसेर मैले देशको आर्थिक रूपान्तरणका लागि पहल गरें, प्रयास पनि उत्तिकै गरें । निजी क्षेत्रलाई नयाँ उँचाइमा पुर्‍याउन सफल भएँ । संस्थागत विकासमा सन्तोषजनक काम गर्न सकें । सीएनआईको अध्यक्ष हुँदाकै कुरा गरौं, नेपालमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सम्भव छ भनेर अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरें । तर यी संस्थामा रहँदाबस्दा मैले सोचे जति काम गर्न सकिनँ । म जे गर्न चाहन्थें, त्यहाँबाट मात्र सम्भव थिएन/भएन ।

त्यसपछि मैले आफैंलाई प्रश्न गरें— के गर्दा सम्भव होला त ? के गर्दा नेपालको आर्थिक समृद्धिको यात्रालाई एकोहोरो रूपमा अगाडि बढाउन सकिएला ? र, आफैंलाई उत्तर दिएँ— राजनीतिबाट मात्रै यो अभियानलाई सम्भव तुल्याउन सकिन्छ ।

हो, विकासको मेरो त्यही दृढ चाहना र योजनालाई साकार रूप दिन सकिन्छ भन्ने आत्मविश्वासका कारण म राजनीतिमा आएको हुँ ।

नेपाली कांग्रेसको राजनीतिकै कुरा गर्नुपर्दा पनि पछिल्लो समय पार्टीको गरिखाने अभियान मार्फत देशको आर्थिक सुधारका लागि काम गर्न सक्ने लगानी, पूर्वाधार र रोजगार विकासका लागि काम गरिरहेको छु । यो नेपाली युवालाई उद्यमी बनाउने अभियान हो । यस मार्फत हामीले उद्यम गर्न चाहनेहरूलाई उनीहरूको सिर्जनशील सोच र सीपसँग स्रोत–साधनलाई जोडिरहेका छौं ।

मेरो सपना छ, समृद्ध नेपाल निर्माण गर्ने । मलाई कत्ति पनि द्विविधा छैन कि समृद्ध नेपाल निर्माण गर्न नसकिएला भन्ने । राजनीतिको मेरो अनुभवबाट म प्रष्ट छु– राजनीतिक नेतृत्व र आर्थिक विकासको व्यवस्थापनमा अब्बल सावित भएकाहरू बीचको संयोजनबाट हामी आर्थिक समृद्धिको यात्रालाई लोभलाग्दो गरी दौडाउन सक्छौं । निकै नै सुस्ताएको र पछाडि परेको हाम्रो विकासको यात्रामा नयाँ उत्साह भर्न राजनीतिक तहमा यस्तो टीम निर्माण गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । विगतका दिनहरूमा जस्तै अलमलमा समय गुजार्ने सुविधा हामीसँग छैन ।

फेरि दोहोर्‍याऊँ, यदि मैले नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन सकें भने राजनीतिमा मैले विताएको समयको अर्थ रहनेछ । प्रत्येक पल मेरा लागि निकै नै महत्वपूर्ण रहन्छन् ती पलहरूलाई मैले विकासका एजेन्डाहरू वास्तविकतामा परिणत भएको अवसरका रूपमा व्यतीत गर्न चाहन्छु । राजनीतिक प्रयोजनका लागि नाम, दाम र प्रतिष्ठा मलाई चाहिएको होइन । किनभने मेरो स्वभाव नै यस्तो छ, कुनै पनि काम शुरू गरेपछि त्यसलाई सम्पन्न नगरी मलाई चित्त बुझ्दैन । निद्रा नै पर्दैन ।

मलाई लाग्छ, विविध विधामा ‘ट्र्याक रेकर्ड’ कायम गरेका, आफ्ना कामलाई परीक्षणको भट्टीमा हालेर सफलता हासिल गरेका व्यक्तिहरू राजनीतिमा आउनुपर्छ । र समग्र देशको विकासमा हातेमालो गर्नुपर्छ । अनि मात्र देशले विकासको बाटोमा कोल्टे फेर्छ । म त भन्छु— देशका अपार सम्भावनालाई जरैदेखि बुझेका र ती सम्भावनालाई वास्तविकतामा परिणत गर्ने सपना बोकेका मानिसहरू राजनीतिमा नभई हुँदैन । देशका समस्यालाई जरैदेखि बुझेको र ती समस्यामाथि समाधान दिन सक्ने मानिस पनि राजनीतिमा नभई हुँदैन ।

आर्थिक समृद्धिको यात्रामा हाम्रा राजनीतिक नेता र विकासका यी आर्किटेक्टहरू सँगसँगै हुनुपर्छ ।

विकासका दीर्घकालीन सोच र कार्यान्वयन क्षमता अब्बल भएका व्यक्तिहरू राजनीतिमा आउने प्रचलन विश्वभर नै छ । त्यसले मुलुकको दीर्घकालीन विकासमा सघाउँछ भन्ने मेरो मान्यता हो । भिजनरी व्यक्तिले देशलाई समृद्धिको बाटोमा अघि लैजान सक्छ । हाम्रै छिमेकी देशहरूमा यही भएको हो । एशियन टाइगरहरूको उदय होस् वा पूर्व सोभियत संघ वा भियतनामदेखि केही अफ्रिकी देशको विकासको रफ्तारमा यही कुरा प्रतिबिम्बित भएको छ । अब विकास भाषणमा, योजनाका ठेलीमा वा सिंहदरबारभित्रका नीतिगत बहसमा मात्र प्राप्त हुन गाह्रो छ । यसका लागि विकासको सोच र सोच कार्यान्वयन गर्ने रणनीतिका साथ विकासको मैदानमा डटिरहेको राजनीतिक नेतृत्वको खाँचो छ ।

म सामान्य परिवारबाट आएको व्यक्ति हुँ । मेरो शिक्षादीक्षा पनि सामान्य रूपमै भयो । कसैलाई भ्रम नपरोस्, म सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको व्यक्ति होइन । सरकारी स्कूल पढी आएको सामान्य नागरिक हुँ । रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कूलबाट स्कूले शिक्षा हासिल गरेको हुँ । र, सरस्वती क्याम्पसबाट उच्चशिक्षा लिएको हुँ । मैले आफ्नो जीवनमा प्राप्त गरेको सफलतामा कुनै रहस्य लुकेको छैन । प्रष्ट सोच, सोच कार्यान्वयन गर्ने दृढता र त्यसका लागि आवश्यक पर्ने संगठन निर्माण । कुनै कामको लक्ष्य लिएपछि लक्ष्यमा नपुग्दासम्म त्यसलाई पछ्याइरहने स्वभाव । यत्ति गर्ने जो कसैले पनि आफूलाई सफल व्यक्ति बनाउन सक्छ । मैले गरेको पनि यत्ति हो । र, राजनीतिमा मैले गर्न चाहेको पनि यस्तै नै हो । मैले समृद्ध नेपाल निर्माण गर्ने सपना देखेको छु र त्यो सपना पूरा नभएसम्म म त्यसलाई पछ्याइरहनेछु ।

मैले जीवनमा कहिल्यै पनि आफूले देखेको सपनालाई बीचैमा अलपत्र पारेको छैन । मलाई नेपालका गाउँगाउँ अनि कुनाकन्दराको अवस्थाबारे थाहा छ । जनताको जीवनस्तरको बारेमा गहिरो ज्ञान छ । र, साना साना उपलब्धिले पनि उनीहरूको जीवनमा कति ठूलो परिवर्तनको महसूस गराउनेछन् भन्ने बारेमा पनि उत्तिकै हेक्का छ । पछिल्लो समय राजनीतिक कार्यक्रममा सहभागी हुँदा होस् वा महासंघको राजनीतिका क्रममा या सीएनआईको कामको सिलसिला होस् वा व्यवसाय विस्तारका लागि देशका कुनाकाप्चामा जाँदा नै किन नहोस्; मैले नेपाली माटोको सुगन्ध चिन्ने मौका पाएको छु ।

र यहाँ रहेको प्रचुर सम्भावनाको ‘कस्तूरी’ चिन्ने सौभाग्य पाएको छु । चाहे त्यो ‘कस्तूरी’ नेपालको पर्यटनको होस् या जडीबुटी क्षेत्रको; अथवा उद्यम व्यवसाय आदिकै किन नहोस् । यस्ता सम्भावनालाई हामीले देशभित्रै उजागर गर्नु छ, तिनको सही दोहन गरेर देशलाई तीव्र विकासको बाटोमा अघि बढाउनु छ । यसमा सच्चा कर्मयोद्धाको खाँचो छ । मैले राजनीतिमा त्यस्ता कर्मशीलहरूबीच सहकार्यको वातावरण बनोस् भन्ने चाहेको छु ।

हो, म आफू पनि त्यही विशुद्ध कर्मयोद्धा बीचको एक सदस्य बन्न चाहन्छु । फेरि दोहोर्‍याऊँ, यसका लागि भाषण गरेर मात्र हुनेवाला छैन । योजना बनाएर मात्र पनि काम बन्नेवाला छैन । यसलाई कार्यान्वयनको तहमा लैजान सक्ने नेतृत्वकै खाँचो छ । मैले आफूलाई यसमै समर्पण गर्न खोजेको हुँ । त्यसैले म राजनीतिमा आएको हुँ ।

देशले विगतमा लामो समय सशस्त्र द्वन्द्व व्यहोर्‍यो । त्यसले आर्थिक रूपमा देशलाई घाटा त पर्‍यो नै, मुलुकलाई विकासमा पनि पछि धकेल्यो । एउटा कालमा आएर द्वन्द्व त सकियो तर राजनीतिक अस्थिरता कायमै रह्यो । त्यसले पनि हामीले सोचे जस्तो विकास हासिल गर्न सकेनौं । जुन कुरा तपाईं–हामीसामु जगजाहेर छ । तर अब हामीलाई यति भनेर छूट छैन, विकास गरेर देखाउनु छ । नयाँ पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्ने जिम्मेवारी पनि हामीसँगै छ ताकि उनीहरूले आफ्ना अग्रजप्रति गर्व गर्न सकून् ।

मैले आफ्नो कर्म मार्फत सीजीलाई विश्वव्यापी ब्रान्ड बनाएँ, मल्टिनेशनल कम्पनीका रूपमा यसलाई दरिलो बनाएँ । तर एउटा व्यक्ति जतिसुकै सफल भए पनि देश सफल नभएसम्म उसको केही अर्थ रहन्न । जब एउटा विशाल पानीजहाज समुद्रमा डुब्न लागेको छ भने त्यो जहाजभित्रको जतिसुकै उत्कृष्ट सुइटका सुविधा तपाईंले उपभोग गरिरहनुभएको छ भने पनि तपाईं जहाजसँगै समुद्रमा डुब्नुहुनेछ । त्यसैले समृद्ध नेपालको निर्माण हाम्रो पहिलो शर्त हो । हाम्रो स्वाभिमान, हाम्रो गौरव र हाम्रो पहिचान देशसँगै जोडिएको छ ।

त्यसैले नेपाललाई विश्व मानचित्रमा विकसित मुलुकको सूचीमा स्थापित गर्नु हाम्रो सबैभन्दा महत्वपूर्ण कार्यभार हो । हो, म यही काममा समर्पित हुन चाहन्छु । बोलीले मात्र होइन, व्यवहारले, प्रतिबद्धताले र; आफ्ना कर्मले । मेरो पुस्ताले देशका लागि केही गरेर देखाउनुपर्छ । मेरो जीवनलाई सार्वजनिक सेवामा लगाउनुको एउटा उद्देश्य यो पनि हो ।

समाजप्रतिको दायित्वलाई पनि मैले राम्रैसँग बोध गरेको छु । म आज जुन अवस्थामा छु, यही समाजले गरेको योगदानका कारण छु । यहींका मानिसका कारण म आज नेपाल र विश्वभर फैलिएको छु । म नेपाली जनता र हाम्रो समाजप्रति नतमस्तक छु ।

म जीवनमा कसैप्रति ऋणी छु भने नेपाली जनताप्रति छु । राजनीतिक सेवा मार्फत म यो ऋण तिर्न चाहन्छु । समृद्ध नेपाल निर्माणका लागि मैले योगदान गर्न सकिनँ भने मेरो ऋण बाँकी नै रहनेछ ।

यतिबेला नेपाली कांग्रेसले पार्टी जीवनको महत्वपूर्ण परिघटना १४औं महाधिवेशन सम्पन्न गरेको छ । नेता–कार्यकर्ताहरूले तन, मन, वचनले पार्टीले अवलम्बन गरेका सिद्धान्त, नीति एवम् त्यस अनुसारको नेतृत्व चयन गर्नुभएको छ । इतिहास साक्षी छ– नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्ति सम्पन्न भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको हो ।

हामी यत्तिमा मात्र सन्तुष्ट छैनौं, हाम्रो काँधमा अर्काे जिम्मेवारी पनि छ— आर्थिक क्रान्तिको । यस क्रान्तिको नेतृत्व गर्ने गहन जिम्मेवारी पनि नेपाली कांग्रेसको काँधमा आएको छ, जसलाई हामीले गन्तव्यमा पुर्‍याउनुपर्नेछ । देशलाई समृद्धिको एउटा दरिलो छहारी दिनुपर्नेछ ।

कांग्रेसलाई आजको अवस्थामा ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान गर्नुहुने पार्टीका श्रद्धेय नेताहरूका मूल्यमान्यता एवम् शिक्षालाई आत्मसात् गरेर त्यही अनुसार अघि बढ्नु पनि छँदैछ । तब मात्र हाम्रो उद्देश्य पूरा हुनेछ, पार्टीको लक्ष्य पनि हासिल हुनेछ । देश पनि समृद्ध हुनेछ ।

अन्त्यमा, म फेरि दोहोर्‍याउँछु— हाम्रो लक्ष्य समृद्ध नेपालको निर्माण हो । र, तपाईं–हामीले नै त्यसको जिम्मा लिने हो । र, यो जिम्मेवारी हामीले हाम्रै जीवनकालमा फत्ते गर्नु छ ।

सामाजिक संजाल