आज म तीनवटा कथा लिएर तपाईहरुका अगाडि उपस्थित छु ।
पहिलो कथा, चिनिया दुर्गम गाउँको एउटा बालकको,
चीनको दक्षिण पूर्बी दुर्गम गाउँ हाबझोउमा एउटा गरिब परिवार थियो । उनीहरु गीत गाउँदै, कथा सुनाउदै आफ्नो जीविकोपार्जन गर्थे । त्यो परिवारमा सन् १९६४ अक्टोवर १५ तारिखमा एक बालकको जन्म भयो । गाउँको धुलो मैलोको साधारण वातावरणमा बालक हुकिर्दै थियो । तर, उसको स्वभाव उपद्रया भएर निस्कियो ।
घरबाट निस्कियो कि कति जनासँग मारमुंग्री गरेर फर्किने हो थाहा छैन । सद्धे सर्टका सबै बटन लगाएर घरबाट पठाएको बच्चा जहिल्यै भुँडी देखाउदै घर फर्किन्थ्यो । साथीहरुसँग जुध्दा कुनै दिन यस्तो रहेन जसको सर्टका बटन बाँकी रहुन् ।
त्यो बालकले हातमा इटा समाएर साथीरुलाई हान्न तम्तयार तस्विर अहिले पनि इन्टरनेटमा असरल्ल छरिएका छन् । स्कुल तहको पढाई जेनतेन सकेपछि उसले कलेजमा भर्ना पाउन दुईपटक इन्ट्रान्स एक्जाम दियो । तर फेल भयो । तेस्रो प्रयासमा उसले कलेजमा भर्ना पायो । ग्राजुएट गरेपछि उसले जागिरका लागि आवेदन दिन थाल्यो । तीसौं पटक आवेदन दिदा पनि उसलाई कुनै रोजगारदाताले पत्याएनन् ।
उसको गाउँ नजिकैको शहरमा बहुराष्ट्रिय रेष्टुरा चेन केएफसी खुल्ने भयो । कामका लागि आवेदन मागियो । ऊ सहितका २४ जनाले जागिरका लागि आवेदन गरे । २३ जनालाई केएफसीले जागिरमा लियो । तर, एक जना त्यहि केटालेमात्र जागिर पाएन । उसका बाबुआमा सोच्दैं थिए होलान्, छोरो काम नलाग्ने भयो ।
सन १९७२ मा अमेरिकी पूर्ब राष्ट्रपति रिचार्ड निक्सनले हाबझोउ भ्रमण गरे । जसका कारण त्यो क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो । बेरोजगार केटो विहानै उठ्थ्यो र तीनै पर्यटककहाँ पुग्थ्यो । उसलाई अंग्रेजी सिक्ने लतले छोएको थियो । पछि उसले बल्ल अंग्रेजी शिक्षकको जागिर पायो । जहाँ महिनाको १२ डलर तलब पाउथ्यो । सन् १९९५ मा उसले अमेरिका भ्रमणमा जाने अवसर पायो । त्यहि बेलामात्रै उसले कम्प्युटर देख्न र छुन पायो ।. उसले इन्टरनेटमा पहिलो पटक सर्च गरेको बिषय थियो ‘बियर’ । तर इन्टरनेटमा एउटै पनि चाइजिन वियरको रिजल्ट फेला पार्न सकेन । उसलाई लाग्यो, चीन इन्टरनेट कम्पनीको जरुरी छ । तर गर्ने के ? त्यसका लागि लगानी गर्ने पैसा छैन । उसले १७ जना साथीहरुलाई जम्मा गरेर अनलाईन मार्केटप्लेस स्थापना गर्ने बिषयमा सहमति जुटायो ।
सन् २०१३ मा म सँगको भेटमा उसले विगतको कहानी सुनायो– उसले ती साथीहरुसँग प्रतिव्यक्ति ५ हजार डलर संकलन गरेर कम्पनी स्थापना गरेको रहेछ । त्यो दुब्लो, उपद्रया र कसैले एउटा जागिरका लागि नपत्याएको केटाको नाम हो, ज्याक मा । ई कमर्सको वादशाह– अलिबाबा डट कमको मालिक । विश्वका अर्बपतिहको पहिलो सूचिको धनाढय । २५ अर्ब डलरको मालिक । आज चीनलाई विश्वमा गौरवान्वित गराउने उद्यमी । आज उनी चिनिया सेलिब्रेटी हुन् । उनलाई देख्न र सुन्न विश्वभरका मानिस लालायित छन् ।
अब म तपाईहरुलाई सोध्न चाहन्छु– हामीमध्ये कति जना ज्याक माको जस्तै खराब पृष्ठभूमिबाट गुज्रिएका छौं ? मलाई लाग्छ, न म त्यो स्तरको निम्न पृष्ठभूमिबाट आएको हुँ, न त तपाईंहरु नै । त्यो स्तरको निम्न पृष्ठभूमिबाट आउनुभएको छ । त्यसैले, यदि त्यत्रो हन्डर खाएका ज्याक माको एउटा सपनाले विश्व हल्लाइदिन सक्छ भने हामीले गर्न नसक्ने केही छैन । खालि हामीले सपना देख्नुपर्यो र त्यो सपनालाई पछ्याउन जान्नुपर्यो । यति गर्न सक्यौं भने हाम्रो सपना साकार नभई सुख छैन ।
दोस्रो कथा, युक्रेनी गाउँकै अर्को बालकको ।
युक्रेनमा एउटा दुर्गम गाउँ छ । जो सधै हिउँले कठ्यांग्रिन्छ । त्यहि गाउँको एउटा सामान्य परिवारमा जन्मिएको बालक हो जन कोउम । उनका बाबु स्थानीय ठेकेदारी गरेर गुजारा चलाउथे । त्यो ठिहि¥याउने चिसो घरमा नुहाउनका लागि तातोपानीसम्मका व्यवस्था थिएन । पछि गएर कोउम परिवारलाई त्यहि गाउँमा पनि बस्न सक्ने वातावरण भएन । राजनीतिक समस्याका कारण गाउँबाट विस्थापित हुन’पर्यो । त्यसपछि त्यो परिवार सरकारले उपलब्ध गराएको आवासमा गुजारा गर्न थाल्यो । जन कउमले जीविकोपार्जनका लागि के सम्म गरेन ?
उनी ग्रोसरी सपको भुई पुछ्ने र त्यहि भुईमा सुतेर रात कटाउने गर्थे । मागेका किताव पढेर उनले कम्प्युटर नेटवर्किब सम्वन्धि ज्ञान हासिल गरे । कम्प्युटर शिक्षा हासिल गरेपछि याहुमा काम पाए र केही समयपछि जागिर छोडे । पछि उनले फेसबुकमा जागिरका लागि आवेदन दिए । तर उनी रिजेक्ट भए ।
आइफोनको भर्खर शुरु भएको एप स्टोर देखेर उनलाई लाग्यो कि अबको भविष्य नयाँ एपको सिर्जनामा छ ।
उनले सपना देखे– यस्तो मोवाईल एपको निर्माण गर्ने ताकी सारा स्मार्टफोन प्रयोगकर्ताहरु एकआपसमा लाइभ कनेन्ट होउन् । लाईभ च्याट गर्न सकुन र उनीरुका डाटाहरु एक्सचेन्ज गर्न सकुन् उनले त्यो सपनालाई पछ्याइरहे जबसम्म उनको सपना साकार भएन ।
सन् २००९ मा ह्वाट्सएप शुरु भयो । दिन दुइगुणा रात चौगुणा ह्वाट्सएपका प्रयोगकर्ताहरु थपिदै गए । आज यो एप प्रयोगकर्ताहरुको संख्या एक अर्बभन्दा बढि छ । उनको यो एप यति लोकप्रिय भयो कि रातारात उनी अर्ब डलरपतिमा रुपान्तरित भए । एउटा नयाँ सोंच र त्यो सोंचको कार्यान्वयनले युक्रेनी चिसों गाउँमा तातोपानीसम्म नपाउने कोउम रातारात विलिनियर क्लवमा प्रवेश गरे ।
आज मेरो विजनेशको मुख्य साहारा पनि यहि एप बनिरहेको छ । म दुनियाको जुनसुकै ठाउँमा किन नहोउँ, मेरो मोवाईलमा रहेको यहि एपबाट मेरो विजनेश दुनियामा के भईरहेको छ भन्ने सबै जानकारी लिन्छु । मैले यहाँ बोलिरहदा यहि एपमार्फत यस कार्यक्रममा मन्तब्य र फोटोह? पक्कै पनि सम्प्रेशित भईरहेका छन् ।
पत्याउनुहुन्छ हिजो कोउमलाई एउटा जागिरका लागि नपत्याउने फेसबुकले उनले निर्माण गरेको ह्वाट्सएपलाई १९अर्ब डलरमा खरिद ग¥यो । मार्क जुकरवर्गले ह्वाट्स एपलाई पनि आफ्नो बनाए । त्यसैले, हामी पनि आफ्नो सिर्जनाका लागि पागल नभई सुखै छैन । हाम्रो परिवार, हाम्रो भूगोल हाम्रो अर्थतन्त्र र हाम्रा राजनीतिले हामीलाई अवरोध गर्दैन । गाउँको सानो झुपडीमा बसेर पनि ठूलो सपना देख्न हामीलाई कसैले रोक्न सक्दैन । यदि त्यो स्तरबाट आएका कोउमले यो स्तरको सफलता हासिल गर्न सकिन्छ भने हामी किन सक्दैनौं ? त्यसैले, म फेरि भन्छु सपना देख्न नछाडौं र सपनालाई पछयाउन पनि नडराउँ । जहिलेसम्म हाम्रो सपना पुरा हुँदैन ।
चीन र युक्रेनपछि अब तेस्रो कथा नेपालकै ।
काठमाडौंको रैथाने टोलमा एउटा चकचके, निडर र आत्मविश्वासी केटा थियो । उसका हजुरबुबा पहिले कपडा बेच्दै हिड्थे । पछि बाबुले न्यूरोडमा एउटा कवल भाडा लिएर कपडा पसल चलाए । बाबुलेनै त्यसलाई डिपार्टमेन्टल स्टोरमा रुपान्तरण गरे । बाबु चाहन्थे छोरो त्यही स्टोरभित्र बसेर हिसाबकिताव दुरुस्त राखोस् । तर, छोरोको मन डिस्को, फेसन, स्टाइल र रमझममै अडेको थियो । उसले बुवाको डिपार्टमेन्ट स्टोर चलाउनुको साटो बरु डिस्को खोल्ने बाटो रोज्यो ।
तर, जब ऊ १८ वर्ष पुग्यो, उसको जीवन नै बदलियो । बाबुलाई ‘हर्ट एटयाक’ ले कमजोर बनायो । उसले कम उमेर र बिनाअनुभव पारिवारिक बिजनेशको जिम्मेवारी बोक्नुप¥यो । बाबुका उमेरका व्यवसायीहरु एकाएक उसका प्रतिस्पर्धी बने । तर, उसले हार खाएन । अझ आफ्नो बिजनेसलाई नयाँनयाँ उचाइमा पु¥यायो ।
तपाईंहरुले थाहा पाईसक्नुभयो, त्यो केटा मै हँु । सिजी कर्प ग्लोबलको अध्यक्ष । आज सिजी कर्प ग्लोबलसँगै पाँचै महाद्विपमा फैलिएका १२२ कम्पनी र विश्वविख्यात ७६ ब्राण्ड छन् ।
अब म तपाईंहरुलाई आफु यहाँसम्म आइपुग्नुको कारण भन्न चाहन्छु । मेरा तीनवटा सपनाका कथाबाट ।
पहिलो कथा, मैले नेपालमा नुडल्सका उपभोक्ता एकदमै कम भएको बेला वाइवाइ सुरु गरे । त्यो बेलाको बजार पनि म्यागीले ओगटेको थियो । त्यस्तो समयमा हामीले सुरु गरेको वाईवाई आज नेपालको फुड कल्चर बनेको छ । यतिमात्र होइन, विश्व नुडल्स बजारमै दुई प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको छ । अमेरिकासहित विश्वका ३२ देशमा यसका उपभोक्ता छन् ।
दोस्रो, वि.सं. २०५० दशकमा माओवादी द्वन्द्व उत्कर्षतर्फ लम्किँदै थियो । लगानीकर्ताहरु नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै नेपालबाट कुलेलम ठोक्दै थिए । त्यहिबेला मैले नेपालमा निजी क्षेत्रबाट अन्तर्रािष्ट्रयस्तरको औद्योगिक ग्राम स्थापना गर्ने योजना बनाएँ । उद्यमी व्यवसायीहरु सुरक्षा घेरामा रहेर काठमाडौंका पाँचतारे होटलमा नेपालमा लगानीको वातावरण समाप्त भयो भन्दै भाषण गरिरहेका हुन्थे, म भने नवलपरासीमा ८० विगा क्षेत्रफलमा औद्योगिक ग्राम बसाल्न दिनरात खटिइरहेको थिएँ । माओवादी द्वन्द्व जति चर्किदै थियो, औद्योगिक ग्राममा पनि एकपछि अर्को उद्योग थपिदै थिए । आखिरमा हामीले दक्षिण एसियाको एउटा नमूना औद्योगिक ग्राम निर्माण गर्ने सपना पुरा गरेरै छाड्यौं । त्यहाँ अहिले एउटै कम्पाउण्डभित्र व्यवस्थित रुपमा दर्जनभन्दा धेरै उद्योगहरु दिनरात चलिरहेका छन् । अहिले उक्त औद्योगिक ग्रामको स्याटेलाईटहरु पूर्वमा इनरुवा र पश्चिममा बर्दियामा बनाउने सपना कार्यान्वयन भईरहेको छ ।
तेस्रो, नेपालमा विदेशी लगानीकर्ताहरु आएर लगानी गर्न हुन्छ भने नेपालीले विदेशमा गएर लगानी गर्न किन हुँदैन ? यो कुराले मलाई लामो समय दिनरात पिछा गरिरह्यो । आखिर मैले निर्णय लिएरै छाडें, विदेशी लगानीकर्ता नेपालमा आउन हुन्छ भने नेपाली पनि विदेशमा जान हुन्छ । सपनाको कुनै सीमा हुँदैन, ज्ञान र सिपलाई पनि कसैले रोकेर रोक्न सक्दैन । तपाईंको दिमागमा सपना छ, त्यो सपना पछ्याउने लगन छ र हातमा सिप छ भने पूँजी ठूलो कुरा होइन । . पूँजी तपाईंलाई पछ्याउँदै आउनेछ । त्यस्तो बेला संसारको जुनसुकै ठाउँमा बिजनेस गर्न सहज हुन्छ । यही सोचेर हामीले नेपालमा पनि लगानी विस्तार गरी नै रह्यौं र विदेशका सम्भावनाहरुलाई पछ्याउन थाल्यौं ।
आज हाम्रो समूहले अमेरिकाको जोन अफ केनेडी इन्टरनेशनल एयरपोर्टको अगाडि ¥याडिसन होटल चलाईरहेको छ । ताज ग्रुपसँगको सहकार्यमा नेपाल, भारत, माल्दिभ्स, श्रीलंका लगायत मुलुकमा विश्व विख्यात होटलहरुमा साझेदारी गरिरहेका छौं । ताजको कुरा गर्दा म यहाँ के उल्लेख गर्न चाहन्छु भने कुनै समय यस्तो थियो, जब म बम्बईको ताज होटलबाहिर उभिएर त्यहाँ छिर्न हिच्किचाउँथेँ । ताजको ढोका बाहिर उभिएका द्धारपालले कठालोमा समातेर बाहिर धपाइदेलान् कि भन्ने मलाई डर हुन्थ्यो । म बाहिरैबाट ताज होटलको परिसरभित्र छिर्ने महंगा गाडी र त्यही गाडीमा आउने धनीहरुलाई हेरेर बस्थें । आज त्यही ताज होटलको स्विटमा बसेर म त्यसरी नै बाहिर हेछुँ । यति मात्र होइन, त्यही ताज होटल, जहाँ छिर्न मलाई आँट आउन्थेन, उसैसँग साझेदारी गरेको छु । हामीले होटल रिसोर्टमा ‘सीजी होटल्स एन्ड रिसोर्ट’ नामक आफ्नै अन्तर्रािष्ट्रय ब्राण्ड पनि स्थापित गरिसकेका छौं । यो एसियादेखि अफ्रिकासम्म विस्तार भईरहेको छ । होटल एण्ड रिसोर्ट विस्तारका लागि आज हामीसँग मिसन २०२० तयार छ– सन् २०२० सम्म विश्वका दुईसय होटल स्थापना गर्ने । त्यो मिसन तिब्र रफ्तारमा कार्यान्वयनमा छ ।
मसँग मनग्गे पैसा भएर यो सबै सम्भव भएको होइन । सपना देखेर मात्रै सम्भव भएको हो । जतिबेला मैले सपना देख्न शुरु गरेँ त्यतिबेलाको मेरो वित्तीय हैसियत सामान्य थियो । चीनका ज्याक मा, युक्रेनका जोन कोउम र नेपालका म, हामी तीनै जनाको व्यावसायिक जीवनमा एउटा समानता छ । हामी तीनैजना सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका हौं ।
बिजनेस सुरु गर्दा हामीसँग सपना बाहेक अरु केही थिएन । त्यसैले म फेरि भन्छु– सपना देख्नुस् । र, सपनालाई पछ्याउनुस् । स्रोतको अभावमा तपाईंको सपना मर्नै सक्दैन । तपाईका नयाँ सोंचमा लगानी गर्न विश्वभर ‘.स्टार्टअप फण्डहरु’ सेवामा हाजिर छन् । आज सिजी कर्प ग्लोबलसँग जे छ त्यो पैसा होइन, त्यही सपनाको प्रतिफल हो, आमउपभोक्ताको विश्वास हो । आज हाम्रो गु्रपलाई फोब्र्सले अर्बपतिको सूचीमा राखेको छ । हाम्रो कारोबारको आँकडा र व्यावसायिक योजना हेरेर फोब्र्सले हामीलाई सूचीमा राखेको हो । तर, म त्यसमा कारोबारको आँकडा मात्र देख्दिन, उपभोक्ताको माया र विश्वास नै बढी देख्छु । तपाईंहरु जस्तै विश्वभर छरिएर रहेका आम नेपालीको विश्वासले नै हामीलाई यहाँ सम्म ल्याइपुर्याएको हो । वाइवाइ खाने नेपालको फुड कल्चरलेनै हामीलाई यहाँसम्म ल्याइपु¥याएको हो । त्यसैले, मेरो फोब्र्स यात्रा प्रत्येक नेपालीको सफलताको कथा हो । प्रत्येक नेपाली जसले वाइवाइ चाखेका छन् र त्यसको स्वादलाई आपूmसँगै संसारभर लिएर गएका छन् ।
तर, म यतिमै सन्तुष्ट छैन । म त्यतिबेला मात्र खुसी हुनेछु, जब फोब्र्स सूचीमा नेपालकै अरु व्यवसायीको नाम पनि देखिनेछ । तपाईंहरु मध्येकै कसैको नाउँ त्यसमा आउनेछ । र, यो असम्भव छैन । खालि तपाईंले सपना देख्नुपर्यो र सपनालाई पछयाइरहने लगन हुनुप¥यो ।
जब हामी सपनाको कुरा गर्छौं, समस्याले हामीलाई सँगसँगै घेर्न आउँछ । अनि हामी समस्या समाधानका लागि सरकारसँग हारगुहार गर्छौं । म सजिलै भन्न सक्छु, तपाई सरकारले समस्या समाधान गरिदेला र काम शुरु गरौंला भनेर बस्नुभयो भने समस्या समाधान हुन्जेल तपाई बुढो भईसक्नुहुनेछ । तपाईंको सपना त्यसै मर्छ । अनि के समस्यालाई दोष दिएर वा सरकारतर्फ औला देखाएर आफ्नो अधोगतिको गीत गाएर बस्नुको कुनै तुक रहन्छ र ?
मेरो विचारमा समस्या समाधान गर्ने पहिलो निकाय हामी आफैँ हौं । नेपालमा व्यवसाय शुरु गर्न साँच्चिकै गाह्रो छ । दोहोरो अर्थ लाग्ने ब्युरोक्रेसीको भाषा हामीले कमैमात्र बुझ्छौं । जब तपाई सहि काम गर्दै हुनुहुन्छ सिधा ढंगले अगाडि बढ्नुस– हात्ति लम्किएजस्तै । सहि काम गर्दागर्दै पनि नियम, कानुनका तगाराहरु तपाईका अगाडि तेर्सिन्छन् भने पनि ति तगारा नाघ्न पनि तयार हुनुहोस् । मैले पनि नाघेको छु, यस्ता तगाराहरु ।
मैले सोचें, यदि म्यागी नेपाली बजारमा आउन हुन्छ भने वाइवाइ विश्व बजारमा जान किन सक्दैन ? हाम्रो नियम, कानुनले मलाई जवाफ दियो, काठमाडौंमा म्यागी किनेर खान तिम्रो नियती हो । तर, तिम्रो वाइवाइ विश्वका उपभोक्तासमक्ष पु¥याउन पाउदैनौं । यो उत्तर मलाई चित्त बुझेन । मैले दशौं पटक सोच्दा पनि मेरो दिमागले मलाई के निर्देशन दियो भने यदि म्यागी नेपाल आउन हुन्छ भने वाइवाइ पनि विश्व बजारमा पुग्न पाउनुपर्छ । आज वाइवाइ एसियादेखि अफ्रिकासम्म, मध्यपूर्वदेखि अमेरिकासम्म पुगेको छ । विश्वभर रहेका नेपालीले विदेशी भूमिमा आफ्नो देशको ब्राण्ड वाइवाइप्रति गर्व गरिरहेका छन् ।
अब त यो ‘हामी सबैको वाइवाइ’ बनिसकेको छ । म यो ब्राण्ड तयार गर्ने निमित्त मात्रै हुँ ।
तपाईहरुलाई लाग्न सक्छ, ठूला कर्पोरेट चलाउन, प्रख्यात ब्राण्डहरुको व्यवस्थापन गर्न विदेशी अनुहार नै चाहिन्छ, हामी नेपालीले सक्दैनौं । यो हिनताबोध तपाईहरुको दिमागको कुनै कुनामा जमेर बसेको छ भने कृपया यसलाई अहिले नै निकालेर फालिदिनुस् । मैले भर्खरै भन्दै थिए, वाइवाइ आज पाँचै महादेशमा विस्तार भइरहेको छ, यसको नेतृत्व नेपाली नागरिकले गरिरहेका छन् ।
चितवनको मेघौली सराइदेखि न्यूयोर्कको ¥याडिसनसम्म, किगालीदेखि श्रीलंकाको ताज समुद्रसम्म, फिलिपिन्सदेखि मुम्बईसम्म फैलिएका ७० वल्र्डक्लास होटल एण्ड रिसोर्टहरु सञ्चालन गर्ने सिजी होटल्स एण्ड रिसोर्टको हेडक्वार्टर काठमाडौं हो भन्ने कुरा तपाईहरु कतिजनाले विश्वास गर्नुहुन्छ ? विश्वास गर्नुस, नेपालले पनि वल्र्डक्लास कर्पोरेट जन्माएको छ । थप वल्र्डक्लास कर्पोरेट जन्माउन सक्छ । त्यसको नेतृत्व भोली तपाईहरुले गरिरहेको हुनुहुनेछ । नेपाल अब सगरमाथा, बुद्ध र गोर्खाजहरुको देशमात्रै होइन, वल्र्डक्लास कर्पोरेटहरुहको पनि देश हो भनेर चिनाउने जिम्मा तपाई हाम्रै हो ।
पुर्खाबाट नलेज हस्तान्तरण हुने दिन अब सकिए । छोराछोरी विग्रिए भनेर बाबु आमाले जतिसुकै चिन्ता गरुन्, गर्न दिनुस् । तपाईले आफ्नो सिर्जनशिलताको उपयोग गर्नुस् । हिजो विग्रिए भनेर चिन्ता लिने बाबुआमाले तपाईप्रति गर्व गर्नेछन् बाब’आमाले जे भन्छन् यहि गर्छु भनेर वसेका भए मार्क जुकरवर्ग २३ बर्षको उमेरमा विलियन डलर क्लबमा प्रवेश गर्ने थिएनन् । किनकी उनका बाबु बाजेले भर्चुअल दुनियामा सोसल मिडिया चलाएका थिएनन् । मैले पनि अरुण इम्पोरियममा कपडा च्यातिरहेको हुने थिए कि ?
हाम्रा लागि आकाश असिमित छ उड्नका लागि . कहाँसम्म उड्ने हामी आफैले तय गर्ने हो । हामी गतिशिल हुन जरुरी छ । टेक्नोलोजीमा प्राप्त उपलब्धी र उपभोक्ताको रुचिमा आएको परिवर्तनलाई नजिकबाट चियाउनुपर्छ । नत्रभने तपाईको विजनेश कुनै पनि दिन नोकिया र ब्ल्याकबेरीको हालतमा पुग्नसक्छ । आजको नम्बर १ बिजनेस भोलि बिहान उठ्दा धराशायी बनेको पनि हुन सक्छ । किनभने टेक्नोलोजिको दुनिया जेटभन्दा तिब्र गतिमा दौडिरहेको छ ।
अब अन्त्यमा म सामाजिक उद्यमशीलताको कुरा यहाँ राख्न चाहन्छु ।
नेपालमा अब धेरैभन्दा धेरै सामाजिक उद्यमी जन्माउनुपर्ने खाँचो छ । चौधरी फाउण्डेसन जो सिजी कर्प ग्लोबलको समाजिक सेवामा समर्पित निकाय हो, जसमार्फत् हामीले नेपालमा ‘सिजी नेपाल सोसल विजनेश’ कार्यान्वयन गरिरहेका छौँ । कसैसँग बिजनेसको राम्रो आइडिया छ तर बिजनेस सुरु गर्न पैसा छैन भने हामी त्यो आइडियामाथि लगानी गर्छौं । यसको लागि बिजनेस आइडिया नाफामुखीमात्र हुनुहुँदैन । त्यसले समाजमा केही योगदान पु¥याएकै हुनुपर्छ । जस्तो, हालसालै हामीले जुम्ला, दाङ, डडेल्धुरा, सल्यान लगायत पश्चिम नेपाल क्षेत्रमा बाल कुपोषण नियन्त्रण, अर्गानिक खेती जस्ता सामाजिक उद्यम कार्यक्रम सुरु गरेका छौं । यो बिजनेसको आइडिया भएका तर पुँजी नभएका युवाहरुका लागि लक्षित छ । यस सामाजिक उद्यमशीलताको अवधारणामा सहकार्य गर्न चौधरी फाउण्डेसन तयार छ ।
गत बर्ष वैशाख १२ गते जब नेपालले भुकम्पको ऐतिहासिक संकट व्यहोर्नुप¥यो, म धेरैदिन निदाउन सकिन । भुकम्प पीडितहरुलाई तत्कालिन र दिगोराहतका प्रभावकारी कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्ने हाम्रो मुल ध्येय थियो । भुकम्पका धक्काहरुमा आफ्नो व्यक्तिगत सुरक्षाको सोंचलाई त्याग्दै हामी पिडितलाई सेल्टरमा ल्याउने पहलमा जुट्यौं । भुकम्पका इपिसेन्टरहरु पछयाउदै गोर्खादेखि सिन्धुपाल्चोकसम्मका पिडितहरुलाई राहत वितरणमा जुट्यौं । उनीहरुका लागि तत्कालिन र मध्यकालिन व्यवस्थापनको खाचो थियो । त्यहि आवश्यकतालाई ध्यानमा राखेर चौधरी फाउण्डेसनमार्फत हजार ट्रान्जिसनल होम र एक सय विद्यालय पुनर्निर्माणको अवधारणा कार्यान्वयनमा ल्यायौं । मैले २०७२ सालमा सबैभन्दा बढि समय कुनै विषयका लागि दिएको छ भने भुकम्प प्रभावितहरुको सेवामै हो ।
जसको परिणाम आज करिब २५ सय ट्रान्जिसनल होम निर्माण भई कम्तिमा १२ हजार भुकम्प पीडितहरुले हावाहुरी र झरीमा टाउको लुकाउने ओत पाउनुभएको छ । साना बालबालिकाहरु भुकम्पले भत्काईदिएको मनोवैज्ञानिक त्रासबाट मुक्त भएर स्कूल जान पाएका छन् भने भुकम्पले भत्काइदिएका ४० वटा विद्यालयहरुले नयाँ भवन पाएका छन् जहाँ स–साना बालबालिकाहरुले ए बि सि डी पढिरहेको दृश्य देख्न पाउदा म धेरैपटक भावुक भएको छु । म पूर्व मुख्य सचिव लिलामणी पौड्यालको शब्द तपाईहरु समक्ष सेयर गर्न चाहान्छु– ‘सरकारले एउटा पनि सेल्टर भुकम्प पीडितलाई दिन नसकिरहेको बेला चौधरी फाउण्डेसनले २५ सय ट्रान्जिसनल होम भुकम्प पीडितलाई निमौण गर्नु कुनै चानचुने उपलव्धी होइन ।’
अन्नपूर्ण पोस्टमा प्रकाशित
लिङ्क: https://himalayakhabar.com/detail/62238.html
No Comments