हुनलाई उद्योगपति विनोद चौधरी दुईपटक सांसद भइसके । एकपल्ट एमालेबाट, अर्कोपल्ट कांग्रेसबाट । दुवैचोटि संसद् छिर्न उनले समानुपातिक बाटो रोजे । तर, यसपालि चौधरी कांग्रेसको झण्डा लिएर प्रत्यक्ष चुनाव लड्न नवलपरासी झरेका छन् ।
अब ६७ वर्षे चाैधरी पूर्णकालीन राजनीतिमा हाेमिएका छन् । कांग्रेसले चौधरीलाई नवलपरासी- १ (बर्दघाट सुस्ता पश्चिम) बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ । आइतबार उम्मेदवारी दर्ता गराएका उनी निर्वाचन क्षेत्रमा भोट माग्न निस्किसकेका छन् ।
उनी भारतबाहेक दक्षिण एसियाकै एक मात्र डलर अर्बपति हुन् । नेपालका ठाउँ-ठाउँमा उनका सफल व्यवसाय छन् । हजारौँलाई रोजगारी दिएको चौधरी ग्रुपका प्रमुख अनि धेरैका लागि प्रेरणाका स्रोत पनि हुन् उनी ।
अर्कातिर ‘जुनै क्षेत्रमा पनि राजनीति भयो, सही राजनीति कसैले गरेनन् । जसले गर्दा देश बिग्रियो’ भन्ने आमटिप्पणी छ । यस्तोमा उनी किन पूर्णकालीन राजनीतिमा हाम फाले त ?
दुई साताअघि उनकै कार्यकक्षमा पुगेर हामीले साेधेकाे प्रश्नमा चौधरीले भने, ‘राजनीतिमा त म पहिलेदेखि नै छु । संसद्मा थिएँ । वडामा गएर चुनाव लडेँ, निर्विरोध भएँ । भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनमा दुईतिर लाइन लागेका सबै प्रतिनिधिलाई हात जाेडेर भोट मागेँ । चौधौँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय समिति सदस्य चुनिएँ ।’
तर सांसद त भइसके । अब फेरि किन तेहेरिने त ?
अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको जवाफ उनले दिए । विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई राख्नुपर्ने भनाइ उनको छ ।
कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारेजसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चाैधरी बताउँछन् । ‘यति धेरै राजनीति हुने देशको आर्थिक, सामाजिक चित्र हेर्नुस् त, कति भयानक छ ?’, उनले भने, ‘तर आफ्नो त्रुटि स्वीकार्न कुनै पार्टी वा नेता तयारै छैनन् । आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न कुनै पार्टी गम्भीर छैनन् ।’
‘यसका लागि राजनीति नै किन गर्नुपर्याे ? जो जुन क्षेत्रमा छ, उसले त्यही क्षेत्रमा इमानदारीपूर्वक काम गरिदिए हुन्न र ? तपाईं आर्थिक क्षेत्रमा सक्रिय हुनुहुन्छ, यसैमा राम्रोसित काम गरिदिए त भैहाल्यो नि, राजनीति नै गर्नुपर्छ र ?,’ हामीले उनलाई सोध्यौँ ।
चाैधरीकाे जवाफ थियाे, ‘म संसद्मा बसेँ । व्यवसायसँगै निजीक्षेत्रका संघ/संगठनहरूको नेतृत्व पनि गरेँ । ती संस्था शक्तिशाली पनि भए । तर, मैले स्वीकार्नुपर्छ, जनताका लागि ठूलो लाभ हुनेगरी परिवर्तन गर्न सकिनँ । र, परिवर्तन गर्ने भनेको राजनीतिबाटै हो भन्ने कुरा मैले महसुस गरेँ । सबैभन्दा ठूलो नीति भनेकै राजनीति हो । अर्कै क्षेत्रमार्फत मैले एउटा टोलमा परिवर्तन ल्याउन सकौँला, एउटा ग्राम बनाउन सकूँला, धाम बनाउन सकूँला, चाैधरी ग्रुप बनाउन सकूँला । तर, राष्ट्रव्यापी परिवर्तन ल्याउन नसकिने रहेछ । म यहाँ बसेर देश बनाउन सक्दिनँ । देश बनाउन मैले तय गरेका भिजन लागू गर्न आफ्नो हस्ताक्षर चल्ने ठाउँमा पुग्नैपर्छ । ताकि मेरो एउटा दस्तखतले ५० वटा बूढानीलकण्ठ स्कुल बनाउन सकियाेस् । ५० वटा ग्राम बनाउन सकियोस् । ५० वटा विशेष आर्थिक क्षेत्र बनाउन सकियोस् । यस्ता थुप्रै याेजना लागू गर्न सकिन्छ ।’
उनले बंगलादेश र भारतको उदाहरण पेस गर्दै भने, ‘बंगलादेशी क्याबिनेटका ५० प्रतिशत सदस्य हामीजस्तै बिजनेस म्यानहरू छन् । भारतका राजमार्गहरूलाई अहिले अमेरिकी सडकसँग दाँजिन्छ । भारतको अनुहार चेञ्ज गरिदिने मन्त्री नितिन गडकरीको पृष्ठभूमि व्यवसाय नै हो । अमित शाह पनि बिजनेस म्यान नै हुन् ।’
उनले थपे, ‘बिजनेस म्यान भनेका पैसाकाे थैली मात्र हुन् भन्ने साेच राजनीतिक दलहरूले त्याग्नुपर्याे । भिजन र प्रभावकारी याेजना भएकैले कुनै व्यवसायी सफल बनेकाे हुन्छ । ऊसित देश बनाउने आइडिया पनि हुन्छ ।’
एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ । ‘एउटा विनोद चौधरी मात्रै होइन, आ-आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ । मेरो सक्रियता एउटा सन्देश पनि हो’, उनले भने ।
राजनीतितिर धारे हात लाउँदै देश बनेन भनेर आफूचाहिँ यसबाट नपन्छिन उनी क्षमता भएकाहरूलाई आग्रह गर्छन् । अनि राजनीतिमा युवाहरूकाे दबाबमूलक सहभागितामा जाेड दिन्छन् । दलहरूले पनि नवीन र प्रभावकारी योजना भएका व्यक्तिहरूलाई ठाउँ दिनुपर्ने उनको भनाइ छ ।
‘तपाईं दुईपल्ट सांसद भइसक्नुभयो, तेस्रोपल्ट संसदमा ल्याउन तपाईंलाई जनताले किन भोट हाल्ने ? दुई कार्यकालमा के गर्नुभयो ?’
‘पहिलोचोटि संविधान लेख्ने जिम्मेवारी थियो । त्यो बेला संविधानसभामा आएको ठूलो दल फरक सोच र सिद्धान्तको थियो । अलग किसिमको सोचलाई उनीहरूले अगाडि बढाइरहेका थिए । यस क्रममा देशलाई हानि हुने अव्यावहारिक र अवैज्ञानिक कुराहरू संविधानमा नपरून् भनेर मजस्ता व्यवसायी संविधानसभामा गएका थियौँ’, उनले भने ।
कुनै पार्टीकाे सदस्यका रूपमा भन्दा पनि आर्थिक क्षेत्रको प्रतिनिधित्व गरेर आफूसहितका केही व्यवसायीहरू सरसल्लाह गरेरै विभिन्न दलको कोटाबाट संविधानसभामा गएकाे उनले बताए । त्यहाँ आफूहरू खरो रूपमा उत्रेकाे उनकाे दलिल छ । ‘नजिता संविधानमै देखिन्छ’, उनले भने, ‘२०७४ सालमा पनि संगठनमा बसेर सक्रिय राजनीति गर्ने मेराे इच्छा थिएन । मैले आफ्नो काम पनि गरेँ । आर्थिक विकासका नीतिबारे हाउसमा प्रश्न गर्थें, आफ्ना कुरा राख्थेँ ।’
त्यसपछि आफूलाई पार्टीका नेतासँग राम्रो सम्बन्ध भएर वा हाउसमा बोलेर मात्रै परिवर्तन सम्भव नहुने रहेछ भन्ने महसुस भएकाे चाैधरी बताउँछन् । ‘त्यसका लागि त खेलाडी नै हुनुपर्ने रहेछ । त्यसैले स्पष्ट भिजन र नयाँ जोसका साथ पूर्णकालीन राजनीतिमा आएको हुँ । जनताले मलाई पत्याउनेछन्’, उनले विश्वाससमेत प्रकट गरे ।
चुनाव लड्न कस्सिएका चौधरीलाई बजेट बनाउने सरकारी काममा हस्तक्षेप गरेको आरोपसमेत लागेको थियो । ‘तपाईं सांसद हुनुभयो, मन्त्री बन्नुभयो वा नीतिगत निर्णय गर्ने ओहदामा पुग्नुभयो भने त स्वार्थअनुकूल काम गर्नुहोला भन्ने शंका गर्नेहरूलाई के भन्नुहुन्छ ?’ शिलापत्रकाे प्रश्नमा उनकाे जिकिर छ, ‘एउटा स्थापित व्यवसायीले भ्रष्टाचार गर्दैन । मैले पैसा कमाइसकेको छु, अब मलाई पैसा कमाउनकै लागि राजनीति गर्न के जरुरी छ र ?’
मुलुकको आर्थिक समृद्धि नै आफ्नो राजनीतिक सपना भएको चौधरीले बताए । ‘आफ्ना लागि मेरो सपना केही छैन । नेपालबाट पढाइका लागि वार्षिक १ खर्ब रुपैयाँ विभिन्न देशका क्याम्पस र विश्वविद्यालयमा जाँदैछ । नेपालमा त्यस्तै अब्बल क्याम्पस र विश्वविद्यालय स्थापना गरेर यहाँबाट बाहिरिने खर्बाैं रुपैयाँ रोक्दै विदेशी पैसाचाहिँ भित्र्याउने मेरो साेच छ । यति मात्रै होइन, हरेक क्षेत्रमा यस्ता योजना लागू गर्न सकिन्छ,’ उनले भने ।
२०६४ सालमा चौधरी एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए । २०७० सालमा नवलपुर एमालेले प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्न उनको नाम सिफारिस गर्यो । तर, उनी चुनाव लड्न गएनन् । २०७४ सालमा कांग्रेस प्रवेश गरी उनी समानुपातिक सांसद बनेका थिए । २०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्य चुनिएका उनी आउँदो ४ मंसिरमा नवलपरासी-१ मा प्रतिनिधिसभा सदस्यका लागि ‘ब्यालेट भिडन्त’ गर्दैछन् ।
यो क्षेत्रमा कांग्रेसले पछिल्ला दुई निर्वाचन लगातार हारेको छ । र, कांग्रेसका लागि चुनौती हुन्, जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी । २०७० सालमा बाहेक यो क्षेत्रमा त्रिपाठीले अरु कसैलाई जित्न दिएका छैनन् । संसद् छिर्ने प्रयासमा सफल हुन चौधरीले पाँचपल्टका विजेता त्रिपाठीलाई हराउनुपर्नेछ ।
‘पार्टीका सबै साथीहरूको मलाई साथ छ । उहाँहरूकै आग्रहमा मैले यो क्षेत्र रोजेको हुँ । मलाई युवाहरूकाे पनि समर्थन छ । स्थानीय तह, वडाको मत हेर्ने हो भने पनि हाम्रो जित सुनिश्चित छ’, चौधरीले भने ।
शिलापत्रमा प्रकाशित
लिङ्क: https://shilapatra.com/detail/97119
No Comments