सन् १९९१ ताका भारत आर्थिक संकटबाट गुज्रिरहेको थियो। वैदेशिक व्यापार घाटा ७२ अर्ब डलरबाट उकालो लागेको थियो।
त्यही वर्ष पीबी नरसिंह राव प्रधामन्त्री बने। आर्थिक संकटमा फसेको भारतलाई निकास दिनुपर्ने ठूलो चुनौती उनीसामु थियो।
रावले बुझेका थिए– बर्बादीको नजिक पुगेको अर्थतन्त्रलाई सम्हाल्न देश र अर्थतन्त्र बुझेको व्यक्ति चाहिन्छ। राजनीतिक एजेन्डाले मात्र देश बन्दैन।
त्यसैले उनले मनमोहन सिंहलाई अर्थमन्त्री बनाए। सिंह त्यतिञ्जेल राजनीतिमा लागेका थिएनन्।
जब मनमोहन सिंहले मुलुकको अर्थतन्त्र सम्हाले, तब भारतले नयाँ लय समात्यो। सिंहले ठूलो विरोधका बाबजूद व्यापक आर्थिक सुधारका कार्यक्रम ल्याए र भारतको आर्थिक उदारीकरण गरे।
पाँच वर्ष अर्थमन्त्री हुँदा उनले बसालेको थितिलाई नै अनुशरण गर्न त्यसपछि बनेका सरकार पनि बाध्य भए। उनले लिएको नीतिले भारतलाई आर्थिक स्थायित्व मात्र दिएन, भारत आज क्रयशक्ति समताका आधारमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र समेत बन्न सफल भएको छ।
दशकौँ लामो राजनीतिक उथलपुथलपछि नेपालमा पनि अर्थतन्त्रको मियो बन्न सक्ने पात्रको खोजी राजनीतिक वृतमा पनि भइरहेको भान हुन्छ। ठूला राजनीतिक दलले त्यस्ता पात्रलाई ‘स्पेस’ दिएर आर्थिक सुधारको थिति बसाल्नु पर्ने कतिपयको तर्क छ।
यसै सन्दर्भमा पछिल्लो समय उद्योगी विनोद चौधरी राजनीतिमा सक्रिय हुन थालेका छन्। सायद सफल व्यवसायी र अर्थतन्त्र बुझेको व्यक्ति भएकाले हुनुपर्छ चौधरीले मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्न सक्छन् भन्ने तर्क पनि सुनिन थालेको छ।
अहिले कांग्रेसमा सक्रिय रहेका चौधरी नेपालको राजनीतिमा उदाउन सक्लान् त? सरकारको नेतृत्व गर्ने अवस्था आउँदा के कांग्रेस आर्थिक सुधारको जिम्मेवारी चौधरीलाई दिन तयार होला?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले औपचारिक पत्र लेखेरै चौधरीलाई पार्टीमा भित्र्याएका थिए। त्यसैले उनलाई सो पार्टीको नेतृत्वमै स्थापित गरिने आकलन पनि हुँदै आएको छ।
चौधरी आफैँले पनि मुलुकको अर्थतन्त्र परिवर्तन गर्न आफू राजनीतिमा आएको बताउने गरेका छन्। पीबी नरसिंह रावले मनमोहन सिंहलाई दिएको राजनीतिक ‘स्पेस’को प्रसंग उठाउँदै केही समयअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अन्तरक्रिया कार्यक्रममा चौधरीले भनेका थिए, ‘म त्यही कारणले राजनीतिमा छु। मेरो सपना छ, म हेर्न चाहन्छु– नेपालको नयाँ पिँढीले अबको पाँच वर्षपछि यही पीडा भोग्न नपरोस्, जुन मैले ४० वर्षदेखि भोगिरहेको छु।’
नेपालले भोगिरहेका थुप्रै आर्थिक समस्या सन् १९९० मा भारतले भोगेको समस्यासँग मिल्दोजुल्दो छन्। मुलुकभित्र उत्पादन राम्रो छैन। जग्गा बाँझो छ तर भारतबाट तरकारी र फलफूल आयात भइरहेको छ। वैदेशिक व्यापार घाटा पछिल्लो ७ महिनामा ७ खर्बभन्दा धेरै छ। रोजगारी सिर्जना हुन सकेको छैन। युवाहरु जीविकाका लागि खाडी मुलुक जान बाध्य छन्। राजनीतिक दलले अर्थतन्त्र सम्हाल्ने भिजन भएको नेतालाई अगाडि सार्न सकेका छैनन्।
गत तीन दशकको इतिहासले के देखाउँछ भने आर्थिक सुधार गर्न सहज छैन। २०४६ सालको राजनीतिक परिवर्तनपछि आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राखिएको नेताहरुले बताएका थिए। तर, त्यसअनुसारका योजना कार्यान्वयन भएको देखिँदैन।
मुलुकको आयआर्जन बढाउने त्यही गाह्रो काम फत्ते गर्न चौधरीको स्पष्ट मान्यता छ– असल र क्षमतावान् मानिसलाई ठाउँ दिइनुपर्छ। राजनीति परिवर्तन गर्ने हो भने त्यस्ता मान्छे राजनीतिमा आउन जरुरी छ।
‘लिभिङ रुममा बसेर राजनीतिलाई गाली गर्ने तर सच्चा राजनीति गरेकालाई सघाउन राजनीतिमा आउन डराउने मानसिकतामा परिवर्तन आउनु पर्छ,’ चौधरीले आफू मुलुकको चुनौतीलाई स्वीकार्न तयार रहेको जनाउँदै भनेका छन्।
राजनीतिलाई नेतृत्व दिन सक्ने र आर्थिक क्षेत्रलाई पनि परिवर्तन गर्न सक्ने सक्षम मान्छेहरु राजनीतिको ‘एक्स्ट्रिम माइनोरिटी’मा हुँदा मुलुक सधैँ यथास्थितिमा रहेको उनको बुझाइ छ।
‘विदेशमा जहाँ सफल व्यवसाय छ, त्यहाँ निजी क्षेत्र वा व्यवसायीहरुको नेतृत्वले बोलेका कुरालाई आत्मसात गरेर राजनीतिक नेताले काम गर्छन्,’ उनी भन्छन्, ‘त्यस्तै वातावरण नेपालमा पनि हुनुपर्छ भनेर म राजनीतिमा आएको हुँ। भोलिका निम्ति नयाँ पिँढीलाई बाटो बनाउने हो भने केही न केही मान्छेले बलिदान गर्नैपर्छ।’
नेपालको एक मात्र डलर अर्बपति चौधरी विश्वका विभिन्न ठाउँमा पुग्दा उनलाई बारम्बार सोधिने प्रश्न हो, ‘तपाईं व्यवसायमा त सफल हुनुभयो। आफ्नो देश र जनताका निम्ति के गर्नु भएको छ?’
यही प्रश्नलाई चिर्न राजनीतिमा लागेको उनी बताउँछन्।
राजनीति र चौधरीको सम्बन्ध
‘राजनीतिबाट म टाढा जान खोजे पनि राजनीति मबाट टाढा जान सकेन। म जीवनमा कुनै न कुनै तरिकाले राजनीतिमा रहिरहेँ,’ चौधरीले भनेका छन्।
उनले भनेजस्तै उद्योग वाणिज्य महासंघ होस् वा नेपाल उद्योग परिसंघमा हुँदा होस्, उनले हमेसा राजनीति र सरकारसँग नजिक रहेर काम गरे।
२०४६ सालमा उद्योग वाणिज्य महासंघमा छिरेका चौधरी २०५० मा अध्यक्ष भए। जुन बेला मुलुक परिवर्तनको चरणबाट गुज्रिरहेको थियो। ०४६ पछि एकातिर कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान लेख्ने प्रयास भइरहेको थियो भने अर्कोतर्फ भारतसँगको गतिरोध अन्त्य भएर नयाँ प्रकारको सम्बन्ध विकास भएको थियो।
प्रधानमन्त्री भट्टराईसँग उनको राम्रो हिमचिम थियो।
‘यु ह्याभ टु बी माइ इकोनोमिक एड्भाइजर, विनोद,’ भट्टराईले आफूलाई बारम्बार भनेको यो कुरा उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
त्यो बेला पनि चौधरी महासंघमार्फत निजी क्षेत्रको आवाज कसरी बाहिर ल्याउन सकिन्छ भनेर लागिपरेका थिए। टिप्पणीतन्त्र र लाइसेन्सराजको बोलवालालाई हटाउन पहल गरिरहेका थिए। त्यसका लागि कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेका थिए। नेपाल उद्योग परिसंघमा आइसकेपछि पनि उनले सोही काम जारी राखे।
सभासदको रुपमा संविधानसभामार्फत संविधान बनाउन पनि चौधरीले भूमिका खेले। तर, त्यसपछि भने उनी केही समय राजनीतिमा सक्रिय देखिएनन्। २०७४ सालको चुनावदेखि उनी नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेका छन्।
गरिखाने अभियानमार्फत बनाउँदै गरेको ‘स्पेस’
कांग्रेसको राजनीतिमा लागेसँगै नेतृत्वदायी भूमिका खेल्न उनले ‘स्पेस’ बनाइरहेका छन्। सो पार्टीले आर्थिक सुधारको लागि काम गर्न सक्ने लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति गठन गरेर चौधरीलाई संयोजक बनाएको छ।
यस समितिमा उमेश श्रेष्ठ, इन्द्र बानियाँ, दीपक खड्का, अनिल रुङ्गटा लगायतका व्यवसायी छन्। यो समितिले तल्लो वर्गसम्म पुग्न भनेर ‘गरिखाने अभियान’ सुरु गरेको छ।
जसको कार्यान्वयनका निम्ति कर्मभूमि नेपाल नामक संस्था दर्ता भएको छ।
‘यो नेपाली युवाहरुलाई उद्यमी बनाउने अभियान हो,’ नेपालखबरसँग चौधरीले भने, ‘यो संस्थाले उद्यम गर्न चाहनेलाई आवश्यकता अनुसार साधन, सीप र स्रोतको उपलब्धता सुनिश्चित गर्छ।’
केही काम गर्ने सोच बनाइसकेका तर कसरी गर्ने, के गर्ने, स्रोत साधन नभएका, काम गरिरहेका तर त्यसलाई अगाडि बढाउन नसकेका मानिसलाई कर्मभूमिमा जोड्ने यस अभियानको प्रयास हो।
यसैक्रममा विभिन्न पालिका र बैंकसँग सम्झौता सुरु भएको छ। यसमा बैंकहरु पनि उत्साहित छन्। डेढ महिनाअघि सुरु भएको यो अभियानलाई आम मानिससम्म पुर्याउने योजना बनिरहेको छ।
चौधरीको नेतृत्वमा वीरगन्ज, हेटौंडा, मुग्लिन, पोखरा, झापामा ‘रोड शो’ भइसकेको छ।
यस्तो खालको कार्यक्रम मुलुकभरका ५० वटा सहरमा गर्ने योजना उनीहरुको छ। हजारौंलाई बैंकिङ फाइनान्सको पहुँच र तालिम दिने योजना छ।
अभियान सुरु भएको छोटो अवधिमै ४ सयभन्दा धेरै प्रस्ताव आइसकेका छन्। यसलाई बैंकिङ प्रपोजल बनाएर बैंकसम्म पुर्याउँदै छन्।
यो अभियानले मुलुकभर ६० लाखभन्दा धेरै युवाको उद्यमशीलता विकास गर्ने चौधरीले बताउँदै आएका छन्। यही अभियानका लागि चौधरी मुलुकभर दौडिरहेका छन्। ठाउँठाउँमा पुगेर स्थानीयसँग भेटघाट गरिरहेका छन्।
यही लगाव र जाँगरका कारण चौधरी कांग्रेसको राजनीतिमा पनि स्थापित भइरहेको चौधरीसँग काम गरिरहेकाहरु बताउँछन्।
‘उहाँको काम गर्ने शैली गजब छ। कुनै कुरामा लागेपछि त्यसलाई सफल नपारी छोड्नुहुन्न्,’ उनीसँगै काम गरिरहेकाहरु भन्छन्, ‘दिनभर कार्यलयमा काम गरेपछि घरमा पनि काम गर्ने उहाँको बानी छ।’
‘कांग्रेसका लागि महत्वपूर्ण’
कांग्रेसले पनि चौधरीको राजनीतिक इच्छाशक्तिले पार्टी र मुलुकलाई सहयोग हुने ठम्याएको देखिन्छ। त्यही कारण कांग्रेसले आर्थिक सुधारका निम्ति काम गर्ने समितिको जिम्मा उनलाई नै दिएको हो।
कांग्रेस नेता रमेश लेखक विनोद चौधरीजस्तो मुलुकको अर्थतन्त्र बुझेको व्यक्ति पार्टीका लागि निकै महत्वपूर्ण हुने ठान्छन्।
‘विविध विधाका मान्छे राजनीतिमा आउँदा बल्ल राजनीति राम्रो हुन्छ,’ लेखकले भने, ‘विनोद चौधरी उद्यम र अर्थतन्त्र राम्रो बुझेको मान्छे हुनुहुन्छ। उहाँजत्तिको सफल व्यवसायी जुनसुकै पार्टीका लागि महत्वपूर्ण हुन्छ।’
सफल व्यवसायीहरु राजनीतिमा आउने चलन विश्वभर छ। तर, अर्बपतिहरु राजनीतिमा आउँदा स्वार्थ बाझिने काम भने हुन नहुने योजना आयोगका पूर्वउपाध्यक्ष तथा कांग्रेस नेता गोविन्दराज पोखरेलको मत छ।
‘मुलुकको विकासका लागि जानेको, बुझेको, अनुभवी व्यक्ति राजनीतिमा आउँदा राम्रो हुन्छ,’ पोखरेल भन्छन्, ‘तर, उनीहरुको काम स्वार्थ बाझिने खालको हुनुहुँदैन।’
उनले अमेरिकाको उदाहरण दिँदै राजनीतिमा लागेका व्यवसायीहरुले आफ्नो व्यवसायलाई फाइदा पुग्नेगरी नीति निर्माण नगर्ने बताए।
नेपालको अहिलेको राजनीतिक अवस्थामा चौधरीजस्ता सफल व्यवसायी राजनीतिमा आउनु शान्ति प्रक्रियापछिको स्थायित्वको लागि फलदायी हुने पोखरेलको विश्लेषण छ।
राजनीतिक द्वन्द्वपछि देशले आर्थिक उन्नति गर्न सकेन भने पुनः द्वन्द्वको जोखिम रहन्छ। द्वन्द्वपछिको संक्रमणकालीन अवस्थामा राजनीतिक दलका नेताको ध्यान राजनीतिक संरचनाहरु बनाउनेतर्फ मात्रै केन्द्रित हुन्छ। गएको दशकमा नेपालमा पनि त्यही भयो। कस्तो व्यवस्था, कस्तो, संविधान, कति सांसद, कस्तो संघीयता भन्नेमा सबैको ध्यान केन्द्रित भयो।
त्यो अवधि सकिएपछि पनि नेताहरुको ध्यान आर्थिक विकासतर्फ पूर्णरुपमा केन्द्रित भएको छैन।
‘यही ग्यापका कारण अहिले नेपाल फेरि संक्रमणतिर जान लागेको देखिन्छ,’ पोखरेल भन्छन्, ‘शान्तिलाई स्थायित्व दिने भनेको आर्थिक सशक्तिकरणले नै हो। त्यो सोच राखेर विनोद चौधरीजस्ता उद्योगपति राजनीतिमा आउनुहुन्छ र राम्रो नीति बनाउने तहसम्म पहुँच पुर्याउनुहुन्छ भने मुलुकको लागि धेरै राम्रो हो।’
कांग्रेस मुलुककै पुरानो र सयौँ पुराना नेता भएको पार्टी हो। यस्तो पार्टीमा विनोद चौधरी जस्ता नवप्रवेशीको लागि ‘स्पेस’ बनाइराख्न गाह्रो हुनसक्ने कतिपयको विश्लेषण छ।
त्यस्तो ठाउँ बनाइराख्न जोकोही कांग्रेसको दर्शनबाट प्रशिक्षित हुनुपर्ने र जनताबाट निर्वाचित भएर आउनुपर्ने पोखरेल बताउँछन्।
‘जनताबाट परीक्षण हुने र पार्टीबाट सफल रुपमा प्रशिक्षित हुनेलाई नयाँ या पुरानो भन्नु हुँदैन,’ पोखरेलले भने, ‘जनताले पत्याए र दर्शनमा प्रशिक्षित भए त्यस्ता मान्छेलाई ठाउँ दिनुपर्छ।’
नवलपुरबाट प्रत्यक्ष उम्मेदवारी
चौधरी त्यस्ता सफल व्यवसायी हुन्, जो सानो कपडा व्यवसायलाई विश्वभर फैलाउँदै मुलुकको एक मात्र डलर अर्बपति बन्न सफल भएका छन्। सानो मेहनत र लगावले यो सम्भव थिएन।
उनका हजुरबुबा भुरामलले सुरु गरेको व्यवसायलाई उनका छोरा लुनकरणदासले थप विस्तार गरे। न्युरोडमा कपडा पसल राखेका लुनकरणदासको व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने काम गरे विनोद चौधरीले।
यो व्यवसाय तेस्रो पुस्तामा आइपुग्दा चौधरीले व्यवसायिक साम्राज्य नै खडा गरिसकेका छन्।
नेपालकै पहिलो बहुराष्ट्रिय व्यावसायिक घराना चौधरी ग्रुपले अहिले ४० भन्दा धेरै उद्योग सञ्चालन गर्छ। फोर्ब्स पत्रिकाका अनुसार अहिले चौधरीको सम्पत्ति १ अर्ब ७० करोड डलर पुगिसकेको छ। आज उनी सीजी कर्प ग्लोबलका अध्यक्ष छन्।
चौधरीले बैैंक तथा वित्तीय संस्था, खाद्यान्न, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, होटल, जडिबुटी, रियल स्टेटलगायत हरेक क्षेत्रमा लगानी गरेका छन्। नेपालबाट सुरु भएको वाइवाइ चाउचाउ दक्षिण एसियासहित अफ्रिका, युरोप र अमेरिका पुर्याएका छन्।
उनले आफ्नो व्यवसाय मात्र गरेका छैनन्। चौधरी फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कामहरू गरिरहेका छन्। अहिले सीजी इन्डस्ट्रियल पार्क रहेको नवलपुर क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छन्।
साविकको नवलपरासी दुई भागमा बाँडिएपछि नवलपुरको आर्थिक तथा सामाजिक सुधारका निम्ति ‘नमुना नवलपुर जिल्ला विकास योजना’ अगाडि बढाएका छन्।
‘हामीले सामाजिक र आर्थिक रुपमा रुपान्तरण भएको नवलपुरको सपना देखेका छौं जहाँका नागरिक आर्थिक रुपमा मात्रै सम्पन्न हुने छैनन्। बरु सुखी र खुसी पनि हुनेछन्,’ नमुना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज २०७५ मा चौधरीले लेखेका छन्।
चौधरी फाउन्डेसनमार्फत सुरु भएको उक्त योजनालाई त्यहाँका सम्पूर्ण राजनीतिक दल, स्थनीय तह, संघसंस्थाले सहयोग गरिरहेका छन्। उनी नवलवपुरका हरेक स्थानीय तहमा घुमेका छन्। स्थानीयको दुःखसुख बुझेका छन्।
सो क्षेत्रका लागि चौधरी फाउन्डेसनले गरेको यी सबै कामका कारण उनलाई त्यहाँ प्रत्यक्ष चुनाव लड्न पनि परिस्थिति सहज छ।
नवलपुर आफ्नै परिवारजस्तो भएकाले चुनावमा उम्मेदवार हुन त्यहीँ जानसक्ने उनले बताउँदै आएका छन्।
समाजसेवामा पनि चौधरी सक्रिय रुपमा लागिरहेका छन्। २०७२ सालको भूकम्पले भत्किएका घर बनाउन चौधरी भूकम्पबाट अति प्रभावित १४ वटै जिल्ला पुगे। उनले तीन हजार आवास निर्माण गरेर १५ हजारभन्दा बढी नागरिकलाई छानो दिए।
कोरोनाको महामारीमा उनी पीपीई, स्यानिटाइजर र मास्क बोकेर मेचीदेखि महाकालीसम्म दौडिए। सरकारलाई भेन्टिलेटरहरु उपलब्ध गराए।
तराईमा बाढी आउँदा होस् या हुरीले घर उडाउँदा होस्, उनी प्रायः सहयोग लिएर जनताका अगाडि हाजिर हुन्छन्।
‘मेरो प्राथमिकता समाज सेवा हो,’ चौधरी भन्छन्, ‘हामीले जनताका लागि केही गरेर देखाउनु पर्छ। मेरो जीवनलाई सार्वजनिक सेवामा लगाउनुको उद्देश्य पनि यही हो।’
चौधरीको यो तयारीले राजनीतिमा उनले फड्को मार्दै गरेको संकेत गर्छ। आगामी निर्वाचनमा प्रत्यक्ष चुनावमार्फत प्रतिनिधि सभामा पुग्ने र त्यसपछि देशको आर्थिक सुधारका लागि नेतृत्वदायी भूमिका खेल्ने मार्ग उनले तय गर्दै गरेको देखिन्छ।
नेपाल खबरमा प्रकाशित
लिङ्क: https://www.ratopati.com/story/347226/binod-chaudhary-earthquake-reconstruction?fbclid=IwAR2ZoQPApeRG-jzyw0yU-dB4a7Q6oVGJWp5JU0Y1EKPopFpJcoeryNDVFS4
No Comments